व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष, मासिक डेढ लाख आम्दानी

 साउन ८, २०७५ मंगलबार ११:२२:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ पाणिनी गाँउ पालिकाका अध्यक्ष  अच्युत गौतमले कृषि व्यवसाय सुरु गर्नुभएको छ । उहाँ अहिले कृषि पेसाबाट मनग्य आम्दानी पनि गर्न सफल हुनुभएको छ । 

बिहान बेलुका र विदाको समयमा उहाँ तरकारी खेती र कुखुरापालनमा समय बिताउने गर्नुहुन्छ । ‘अरुले भाषण गर्छन म काम गरेर देखाउँछु’ उहाँले भन्नुभयो । हामी आफू अनुकुल काम गर्दैनौँ । समृद्धिको कुरामात्र गरेर हुँदैन उहाँले भन्नुभयो कृषिबाटै हामीले मनग्य आम्दानी गर्न सक्छौँ ।  

उहाँले अहिले कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर बार्षिक १८ देखि २५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । उहाँको वार्षिक आम्दानीलाई हिसाब गर्दा मासिक एक लाख ६० हजार भन्दा बढी हुन आउँछ । यो आम्दानी कुनै जागिरबाट पनि सम्भव छैन । उहाँ नेपाली कांग्रेसको क्षेत्रीय सभापति पनि हुनुहुन्छ ।

उहाँको बारीमा काक्रा, घिरौला, लौका, मुला, टमाटार, बन्दा, सागलगायतका तरकारी उत्पादन भएका छन् ।  उत्पादन भएको तरकारी स्थानीय बजार र बुटवलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमले बताउनुभयो । बजारको पनि समस्या छैन । 

परिश्रम गरे यहीँको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्यवसायले अहिले सोचे भन्दा पनि बढी फाइदा दिएको उहाँले जानकारी दिनुभयो । 

तरकारी खेती मात्र हैन उहाँले अण्डा उत्पादन गर्ने कुखुरापालनलाई पनि सँगसँगै अगाडि बढाइ रहनुभएको छ । उहाँको कुखुरा फर्ममा  अहिले एक दिनमा २ हजार  देखि  ३ हजार  अण्डा उत्पादन हुन्छन् ।  अण्डा उत्पादनबाट  कम्तीमा १५ देखि बढिमा २०  लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ  । 

अहिले पोखराथोक, पणेना, मैदान पाटौटी र खिदीम गाविसमा उहाँकै कृषिबाट प्रभावित भएर युबाहरु समेत ब्यबसायीक तरकारी खेती र कुखुरापालनमा लागेका छन् ।

गाउँपालिकाको अध्यक्ष भएपछि पनि उहाँले धेरै युवाहरुलाई कृषि गर्न आग्रह गर्नुभयो तर अधिकांश युवाहरु वैदेशिक रोजगारमा जाने गर्दछन् । उनीहरुलाई प्रेरणा दिन पनि उहाँ अझ सक्रिय भएर लागेको गौतमले बताउनुभयो । गौतमले पाणिनी गाँउपालिकालाई कृषिमा पकेट क्षेत्र बनाउन लागि परेको जानकारी पनि दिनुभयो । 

उहाँले तरकारी खेती र कुखुरा पालन गरेर पाँच जनालाई रोजगार पनि दिनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया