नेपालविरुद्ध अकिबकाे शतक, नेपाल आठ विकेटले पराजित

 माघ २६, २०७६ आइतबार १६:२६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग आठ विकेटले पराजित भएकाे छ । 

नेपालले दिएकाे दुई सय ५० रनकाे लक्ष्य ओमानले ४७ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । 

लगातार तेस्रो जीत निकालेको ओमान तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालले अब अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्ने छ ।

ओमानको जितमा अकिब इलियस र जिसन मक्सुदले उत्कृष्ट पारी खेले । इलियसले शतक बनाउँदा मक्सुदले अर्धशतक बनाए । पहिलो विकेट ४९ रनमा गुमाएको ओमानले दोस्रो विकेट ८३ रनमा गुमाएको थियो । ओमानका जतिन्दर सिंह व्यक्तिगत २३ रन बनाएर कुशल मल्लको बलमा आउट भएका थिए भने ४१ रन बनाएका खवार अलिलाई पनि सुशन भारीले पेभेलियनको बाटो देखाएका थिए ।

त्यसपछि क्रिजमा इलियस र मक्सुदले उत्कृष्ट साझेदारी गर्दै ओमानलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । इलियसले १ सय २ बलमा शतक पूरा गरेका थिए । अन्तिमसम्म क्रिजमा रहेका इलियसले अविजित १ सय ८ रन बनाउँदा मक्सुद पनि ६८ रनमा अविजित रहे ।

नेपालका तर्फबाट सात जनाले बलिङ गरे पनि दुई सय ५० रनको लक्ष्य पछ्याएकाे ओमानलाई राेक्न असफल रह्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनी ५६ रन बनाएर आउट भए ।

यसैगरी पारस खड्काले ३८ रन बनाउँदा विनोद भण्डारीले ३५ रन जोडे । यस्तै कुशल मल्ल र आरिफ शेखले समान २८–२८ रन बनाउँदा ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए ।

करण केसी १० रनमा आउट हुँदा सन्दीप लामिछाने १० रनमा अविजित रहे भने याे खेलमा डेब्यू गरेका कमलसिंह ऐरी ९ रनमा अविजित रहे । याे खेलमा दीपेन्द्रसिंह ऐरीले भने रनको खाता नै खोल्न सकेनन् ।

ओमानविरुद्ध नेपाली बलर 

ओमानविरुद्ध नेपालले ७ जना बलर लगाएको थियो । जसमा करण केसीले ९ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ४४ रन खर्चिए । सन्दीप लामिछानेले ८ ओभर बलिङ गर्दा ४४ रन दिएका थिए ।

कमलसिंह ऐरीले ४ ओभर बलिङ गर्दा २९ रन दिए । सुशन भारीले ७ दशमलव २ ओभरमा ४१ रन खर्चिँदै १ विकेट लिएका थिए । कुशल मल्लले ८ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर २५ रन खर्चिदै १ विकेट लिए ।

त्यस्तै पारस खड्काले ७ ओभरमा २५ रन खर्चिँदा दीपेन्द्रसिंह ऐरीले १ ओभरमा ७ रन दिए । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया