सरस्वती क्लब 'बी डिभिजन' मा घटुवा

 माघ २७, २०७६ सोमबार १५:११:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरस्वती युथ क्लब 'बी डिभिजन' मा घटुवा भएकाे छ ।

लिगमा एक खेल बाँकी हुँदै सरस्वती क्बल च्यासल युथ क्लबसँग दुई–एकले पराजित भएपछि फेरि रेलिगेशनमा परेकाे हाे । यसअघि सरस्वती विसं २०६३ सालमा 'रेलिगेट' भएको थियो ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएकाे खेलको १८औँ मिनेटमा च्यासलले अग्रता लियो । च्यासलका लागि टेइगे नाकामुराले फ्रिकिकमार्फत गोल गर्न सफल भए ।  

एक गोलको अग्रता बनाएको च्यासलका सुनील बलले २३औँ मिनेटमा गरेको लामो प्रहार पोस्टमा लागेन । ३०औँ मिनेटमा नितिन थापाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

पहिलो हाफमा एक गोलले पछि परेको सरस्वतीले दोस्रो हाफमा पनि थप एक गोल खायो । च्यासलका लागि विदेशी खेलाडी हायाटो वाकिनोले गोल गर्न सफल भए ।

६९औँ मिनेटमा च्यासलले अर्को सुन्दर अवसर पाएको थियो । तर सुनील खड्काको पासमा पुरन श्रेष्ठले प्रहार गरेको बल सरस्वतीका गोलकीपरले बचाए ।

त्यसपछि खेलको इञ्जुरी समयको अन्तिममा सरस्वतीले एक गोल फर्काए पनि हार भने टार्न सकेन । सरस्वतीका लागि काजीम बुसारीले गोल गरे । लिगमा च्यासलको १५ अङ्क भएको छ । लिगमा उसको चौथो जित हो ।

यो हारपछि सरस्वती 'बी डिभिजन' मा झरेको छ । लगातार पाँच पटक शीर्ष डिभिजन खेलेको सरस्वतीको इतिहासमा नै लिगमा चार अङ्क अहिलेसम्मकै न्यून हो । यो सिजनमा हिमालयन शेर्पाविरुद्धको जीत उसको लिगमा २९औँ जित थियो ।

सरस्वती विसं २०६३ मा ए डिभिजनमा उक्लिए पनि त्यही सिजन फेरि बी डिभिजनमा झरेको थियो । सरस्वती क्लब २०६६/६७ सालको लिगमा बी डिभिजनको शीर्ष स्थानमा रहँदै फेरि ए डिभिजनमा उक्लिएको थियो । 

२०६८ सालको लिगमा १३औँ स्थानमा रहेको सरस्वती २०६९ को लिगमा नवौँ स्थानमा रहेको थियो । जसका कारण उसले सुपर लिगमा स्थान बनाउन सकेन । यस्तै २०७० को लिगमा पनि सरस्वती नवौं स्थानमा रहँदै सुपर लिगमा पुग्न सकेन ।

गएकाे सिजनको लिगमा सरस्वती क्लब नवौं स्थानमा नै रहेको थियो । तर यसपटक उसले लिगमा निकै खराब प्रदर्शन गर्‍याे । लिगमा उसले अहिलेसम्म सात गोल गर्दा २९ गोल खान पुग्यो ।

यस पटककाे लिगमा सरस्वती एक खेल अगाडि नै रेलिगेसनमा परेको हो । उसले अहिलेसम्म १२ खेलमा एकमात्र जित निकालेको छ भने एक बराबरी र १० खेलमा हार ब्यहोरेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया