फेसबुकको प्रेमले अलपत्र परिन् रबिना, काखे छोरोले बाबु खोई भन्दा जवाफ के दिने ?

 साउन ८, २०७५ मंगलबार १४:५६:२३ | निर्मला खडायत
unn.prixa.net

कैलाली –  भेरी नगरपालिका–१ जाजरकोटकी १९ वर्षीया रबिना बादीसँग केही वर्ष अघिसम्म के थिएन र ? खान लाउन पुग्ने आकर्षक जागिर ।

सुख सयलको घरपरिवार । पातलो शरीर र गोरो वर्णकी रबिनालाई आफ्नो बनाउन खोज्ने पुरुष धेरै थिए । तर उनको जीवनमा एकाएक बज्रपात आइलाग्यो । घरबार उजाडियो । अहिले उनी एउटा गैरसरकारी संस्थाको ‘सेफ हाउस’को शरणमा पुगेकी छिन् ।

२०७१ देखि २०७४ सम्म उनी नेपालगञ्जस्थित एउटा सञ्चारगृहमा कार्यरत थिइन् । त्यसताका उनको बर्दिया बाँसगढी नगरपालिका–१, काठकुवाका श्यामलाल वली (अर्चन)सँग फेसबुकमार्फत चिनजान भयो । फेसबुकको चिनजान प्रेम सम्बन्धमा परिणत भयो । उनीहरुबीचको सम्बन्ध त्यतिमा सीमित भएन । १४ वैशाख २०७४ मा विवाह भयो । यहाँसम्मको सम्बन्ध जोडिनुमा अर्चनको आमाको पनि महत्वपूर्ण भूमिका रहेको उनी बताउँछिन् ।अर्चनसँगको सुरुवाति दिन राम्रोसँग बित्यो ।

जब उनको महिनावारी रोकियो । तबदेखि सुरु भयो, जीवनका कहालीलाग्दा दिनहरु । यहाँसम्मकी सँगै जिउने, सँगै मर्ने कसम खाएका श्रीमानले समेत आफ्नो वास्तविक नाम, ठेगाना र पहिलो विवाह भएको लगायत पहिचान लुकाएको थाहा पाइन् । त्यसपछि उनी छाँगाबाट खसेझैं भइन् ।

‘नेपालगञ्ज घर भन्ने अर्चनको आफ्नो घर बर्दिया बाँसगढी नगरपालिका–१ काठकुवामा रहेछ । अर्चनको आफ्नो नाम श्यामलाल वली रहेछ’ उनले थकित मुद्रामा भनिन्, ‘उसले केटीहरुसँग कुरा गर्दा प्रशान्त, राज, जेनिस, अर्जन नाम बताउने गथ्र्यो । र ठेगाना नेपालगञ्ज भन्थ्यो ।’ यहाँसम्मकी अर्चनले आफू बीबीएस पढेको बताउँथ्यो । तर पछि एसएलसी पास समेत नभएको उनले थाहा पाइन् ।

श्रीमानले सप्तरंगी सपना देखाएर झुठो प्रेम र विवाह गरेको जानकारी पाएपछि उनीहरुबीचको सम्बन्ध बिग्रन थाल्यो । अर्चनको पनि व्यवहारमा नाटकीय परिवर्तन सुरु भयो । उसले शारीरिक तथा मानसिक यातना समेत दिने गरेको उनले सुनाइन् । अर्चनले बिहे गरेर पनि उनलाई घर नलगेर भारत लगे । रबिनाका बुवा भारतमै बस्नुहुन्थ्यो । भारतमा गएको केही महिनामा उनी बिरामी परिन् । त्यसपछि बुवालाई भेटिन् । केही महिनाको भारत बसाईपछि रबिनाको माइती पक्षले अर्चनलाई घर लैजान दबाब दियो ।

दबाबपछि अर्चनले आफ्नो स्थायी घर बर्दिया त लाग्यो । तर उसको परिवारले स्वीकार गरेनन् । कारण एउटै थियो, रबिनाको थर दलित हुनु । पहिले दलित भन्ने थाहा पाएर पनि आफ्नी बुहारी स्वीकार गर्छु भन्ने अर्चनकी आमाले पनि रबिनामाथि क्रुर व्यवहार देखाइन् । घरमा बस्न नपाएपछि रबिना माइतीमा बस्न थालिन् । अर्चन पनि सँगै ससुरालीमै बस्यो । उनीहरुको छोराको जन्मिदै मुटुमा दाग थियो ।

एक दिनको कुरा हो, अर्चनले छोरोको उपचार र कामको लागि काठमाडौं जाने प्रस्ताव गर्यो । रबिनाले पनि अर्चनको कुरामा सहमति जनाइन् । तर काठमाडौं लैजाने भनी घरबाट निस्केको अर्चन दुधे बालक र रबिनालाई नेपालगञ्ज बसपार्कमा अलपत्र छोडेर भाग्यो । रबिनाले गहभरी आँसु पार्दै भनिन्, ‘दुई दिनसम्म बसपार्कमै पर्खिरहेँ । तर उ आएन । काखमा बच्चालाई लिएर धेरै ठाउँमा भौंतारिरहें ।’

श्रीमानको खोजीमा उनले धेरै ठाउँ चाहारिन् । तर अर्चन कतै फेला परेन । उनी छोरोसहित बेघर भइन् ।  कतैबाट साथ नपाएपछि उनलाई आफ्नो जीवन नै धिक्कार लाग्न थाल्यो । जिउने आधार नदेखिएपछि कोमल मन भएकी रबिनाले एक पटक त दुधे बालक र आफ्नो घाँटीमा पासो समेत लगाउन खोजिन् । आत्मबल बलियो बनाउनुपर्छ भन्ने बुझेर पासो फुकालिन् अनि कैलालीको अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसको सम्पर्कमा पुगिन् ।

आफ्नो दुःख पोख्दै गर्दा सानो छोराले बाबा, बाबा भन्यो । उनले गहभरी आँसु बनाएर छोरालाई सुम्सुम्याइन् । र भन्न थालिन्, ‘के गर्छस् त बाबै, गाढा प्रेम दर्शाउने बाबाले चटक्कै छोडेर गए, हामी दलितका लागि त सबैको माया देखावटी नै पो हुँदो रहेछ ।’ अब उनको छोरोलाई बावुको पहिचान दिलाउने इच्छा भएपछि बाँकी जीवन भने अलग्गै जिउन चाहन्छिन् । छोरालाई बावुको नाम दिन मन छ ।

६ महिनाको छोरोले बुवा खोज्दा रबिनाको मन पोल्छ, उनी भक्कानिन्छिन् । सबैका सन्तान बुवासँग हुँदा, उनको सन्तानले पनि बुवा खोई भन्यो भने रबिनासँग त्यो बालकलाई दिने कुनै जवाफ छैन । अचेल उनी आफ्नो ख्याल गर है बाबै, यो संसारमा कसैको भर हँुदैन भनी आमाले सम्झाएको कुरा झलझली सम्झिन्छिन् । 

तपाईंलाई पीडा हुँदैन आफ्नो विगतलाई स्मरण गर्दा ? भन्ने प्रश्न गर्दा उनले हाँस्दै भनिन्, ‘यी कुराहरु सामान्य जस्तै लाग्न थालिसके अब मलाई । तपाईं आउनु भो तपाईंसँग दुःख पोखें । कोही अर्को आए उसँग आफ्ना वेदनाका भारी बिसाउँछु । अब त प्रायः दैनिकी नै विगतको याद गर्दैमा बित्छ ।’ 

रबिनाका अनुसार अर्चनले छोडिसकेपछि उनी आफ्नो ससुराली घर पनि गइन् । तर त्यहाँ गएर उनले कसैलाई भेट्न पाइनन् । गाउँको घर जग्गा सबै बेचेर पुरै परिवार भारत सरेको खबर पाइन् । ‘के गर्नु जहाँ गए नि हामी दलित छोरीलाई सबैले हेप्ने रैछन्, त्यसैले कतै काम पाउन सकेकी छैन’ उनले दुखेसो पोखिन् । रबिनाको जीवन अहिले दुई धारको बीचमा जस्तै बनेको छ । रबिना न आफ्नो पहिलेको प्रेममा खुशी हुन सक्छिन्, न अहिले अर्चनलाई गुमाएकोमा दुखी । 

महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासीले रबिनालाई न्याय दिलाउन प्रयास भैरहेको बताइन् । उनले पीडित रविनाको श्रीमानको घर बर्दिया भएकोले कैलालीबाट समस्या समाधान नहुने हुँदा असार ३१ गते उनलाई बर्दियाको सेभ हाउसमा सारिएको जानकारी दिइन् । बर्दियाबाटै न्याय दिलाउन कानूनी प्रक्रिया थालिने पनि उनले बताइन् । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया