ए डिभिजन लिग : १२औँ चरणअन्तर्गत तीन खेल हुँदै

 माघ २८, २०७६ मंगलबार ८:२२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मङ्गलबार तीन वटा खेल हुँदैछ । 

पहिलो खेलमा उपाधिको दाबेदार त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइज (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ भने तेस्रो खेलमा नेपाल पुलिसले मनाङ मर्स्याङ्दीकाे सामना गर्दैछ । 

सातदोबाटोकाे एन्फा मैदानमा बिहान पौने नौ बजे हुने पहिलाे आर्मीले बीबीसीलाई पराजित गरेमा फेरि शिर्ष स्थानमा उक्लनेछ । यसका साथै उपाधिका लागि लिगको अन्तिम खेलमा मच्छिन्द्रको खेलले उपाधिको छिनोफानो गराउनेछ ।

मच्छिन्द्रभन्दा दुई अङ्कले पछाडि रहेको आर्मी पहिलो पटक ए डिभिजन लिग जित्ने सङ्घारमा रहेको छ । ब्रिगेड ब्याइज भने अङ्क तालिकाकाे १२औँ स्थानमा रहेको छ ।

मङ्गलबार नै हुने दाेस्राे खेलमा लिगको चौथो स्थानमा रहेको थ्री स्टारले एनआरटीसँग खेल्नेछ । उपाधिको होडबाट बाहिरिसकेको थ्री स्टारले एनआरटीविरुद्ध जित निकाल्न सके शीर्ष ६ को यात्रा पक्क गर्नेछ ।

थ्री स्टारले ११ खेलमा ६ मा जित निकाल्दै २० अङ्क बनाएकाे छ । त्यस्तै शीर्ष ६ मा रहने प्रयासमा रहेकाे एनआरटी थ्री स्टारविरुद्ध 'सरप्राइज' नतिजा निकाल्ने लक्ष्यमा छ । ११ खेलमा पाँच जितमा हासिल गरेकाे एनआरटीकाे १५ अङ्क छ ।

लिगअन्तर्गत मङ्गलबारकाे अन्तिम खेलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दीकाे सामना गर्नेछ । लिगको तेस्रो स्थानमा रहेको मनाङ विभागीय टिम पुलिसविरुद्ध तीन अङ्क बटुल्दै आफूलाई शीर्ष तीनमा राख्ने लक्ष्यमा हुनेछ ।

यस्तै लिगको छैटौं स्थानमा रहेको पुलिस भने मनाङविरुद्ध तीन अङ्क खोस्ने लक्ष्यमा छ । याे खेलमा मनाङविरुद्ध जित निकालेमा पुलिसको शीर्ष ६ रहने सम्भावना बलियो हुनेछ । पुलिसकाे ११ खेलमा १७ अङ्क छ भने मनाङको ११ खेलमा २२ अङ्क छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया