ए डिभिजन लिग : मनाङ अङ्क तालिकाकाे तेस्राे स्थानमा

 माघ २९, २०७६ बुधबार ८:२९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोकाे एन्फा मैदानमा भएको खेलमा मनाङले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलको ३२औँ मिनेटमा आदित्य चौधरीको लामो पास अञ्जन राईले क्लियर गर्न नसककेकाे बललाई विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

४३औँ मिनेटमा अन्जन विष्टको गोलमा मनाङले अग्रता दोब्बर बनायाे । अञ्जनले निशान लिम्बुको पासमा हेडमार्फत गोल गरेका थिए ।

मनाङ सात खेलमा जित, चारमा बराबरी र एक खेलमा हार ब्यहाेर्दै तेस्रो स्थानमा छ। मिश्रित खेल पस्कँदै आएको पुलिस क्लब भने पाँचमा जित दुईमा बराबरी र पाँच खेलमा हार ब्यहाेर्दै १७ अङ्कसहित छैठौँ स्थानमा छ।

मनाङले गएकाे संस्करणमा सङ्कटा क्लबलाई हराउँदै आठौँ पटक लिगको उपाधि उचालेको थियो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७० र २०७५ सालमा लिगको उपाधि जितेको थियो।

लिगको उपाधिका लागि भने शीर्षस्थानको त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया