काठ चोरीमा संलग्न प्रहरी निरीक्षकविरुद्धको मुद्धा वन कार्यलयले लिन मानेन

 साउन ८, २०७५ मंगलबार १६:१७:१२ | विमल बिष्ट
unn.prixa.net

डोटी – काठ चोरीमा संलग्न भनिएका डोटीको विपी नगर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई जोगाउन चलखेल भएको स्थानीयको आरोप छ ।

प्रहरी निरीक्षक बोहरालाई बचाउन विभिन्न राजनीतिक दललगायत कर्मचारीहरुले चलखेल सुरु गरेको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन् । इलाका प्रहरी कार्यालय विपी नगरका इञ्चार्ज प्रहरी निरीक्षक बोहरालाई एक साता अघि स्थानीयले काठसहित रंगे हात समातेका थिए । स्थानीयले बोहोरालाई काठसहित रंगे हात नियन्त्रणमा लिएसँगै काठ इलाका वन कार्यालय विपी नगरले सेक्टर वन कार्यालय बुडरको जिम्मा लगाएको थियो ।

तर उनीविरुद्धको मुद्दा जिल्ला वन कार्यालय डोटीले एक साता बितिसक्दा पनि दर्ता समेत गर्न नमानेको स्थानीयको गुनासो छ । इलाका वन कार्यालय विपी नगरका रेञ्जर प्रदीप कुँवरले साउन १ गते नै थप अनुसन्धानका लागि भन्दै आफूहरुले सेक्टर वन कार्यालय बुडरमा पठाएको बताउनुभयो ।

उहाँले सेक्टर वन कार्यालयले मुद्दा अघि बढाउन ढिलाइ गरेको स्वीकार्दै यसको कारण थाहा नभएको जानकारी दिनुभयो । उता सेक्टर वन कार्यालय बुडर डोटीका प्रमुख सुरेशचन्द्र डिसीले काठ चोरीमा प्रहरी निरीक्षक बोहराको संलग्नता हो कि होइन भनेर इलाका प्रहरी कार्यालय विपी नगरलाई गरिएको पत्राचारको जवाफ नआएकाले मुद्दा जिल्ला पुग्न ढिलाइ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रको जवाफ आउन ढिलाई भएकाले जिल्लामा फाइल पठाउन सकिएको थिएन, सोमबार जवाफ आएकाले हामीले मंगलबार जिल्लामा मुद्दा दर्ताका लागि पत्र पठाइसकेका छौ ।’ स्रोतका अनुसार राजनीतिक दलका केही नेता र वन कार्यालयका कर्मचारी प्रहरी निरीक्षक बोहरालाई बचाउन चलखेल गरिरहेका छन् । उनीहरुले कैलालीको केदार सामुदायिक वनबाट वैध तरिकाले इलाका प्रहरी कार्यालय विपी नगरको प्रयोजनका लागि काठ लगेको कागजात मिलाउन लागेको श्रोतको दाबी छ ।

त्यही कागज मिलाउन भएको ढिलाइले एक सातादेखि काठचोरीको मुद्दा दर्ता भएको छैन । गएको असार ३२ गते राति विपी नगर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहराले ल्याउँदै गरेको सिसौको काठसहित ट्रयाक्टर स्थानीयले नियन्त्रणमा लिएका थिए ।

काठ तस्करी गरेर धनगढीतर्फ लैजाँदै गरेको सूचना थाहा पाएपछि स्थानीय युवाहरुले काठ नियन्त्रणमा लिएका थिए । काठ चोरी गर्नमा प्रयोग गरिएको से १ त ५१८९ नम्बरको ट्रयाक्टरमा लोड गरेर लैजाँदै गरेको ६ वडा सिसौको गोलिया बरामद गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया