आकाशमा तातो वायुको अत्यास

 फागुन ३, २०७६ शनिबार ७:२३:२१ | सन्जिता देवकोटा

काठमाण्डाै - हरेकपटक जहाज दुर्घटनाका खबर पढ्दा अनि क्षतविक्षत शवका फोटो देख्दा मन असाध्यै पोल्छ । मर्दैछु भन्ने थाहा भैसकेपछि मर्दै, बाँच्दै गर्दाको त्यो छोटो पल कति कहालीलाग्दो हुँदो हो ?

त्यही मनको डरले होला जहाज चढ्ने बेला यही कामना गर्थें, मैले त्यो पलको सामना गर्न नपरोस् । तर भन्छन् नि, कहिलेकाहीँ नसोचेकै र नचाहेकै हुन्छ । 

जुन कुरा कल्पना गर्दा मन आत्तिन्थ्यो, हातगोडा काँप्थ्यो र भाउन्न हुन्थ्यो, यो पालि आफैंले त्यो पलको अनुभव गर्नु पर्यो । बादलमाथि उडिरहेको जहाजमा झण्डै १० मिनेटजति मृत्यु त्रासको राज चल्यो । लाग्यो म सपनामा छु । बादलमाथि उडिरहेछु । अबको केही छिनमा जहाज ह्वारह्वारी बल्नेछ । तर म भने मर्ने छैन ।

माघकाे अन्तिम साता । दिउँसो २ः३० बजे जनकपुरको उडान थियो । ४५ मिनेटअघि विमानस्थल पुगें । बोर्डिङ पास लिने लाइन लामै थियो । कतारबाट घर फर्किएका दुई युवाको लगेज मिलाउँदा केहीबेर लाग्यो । मेरो पालो आयो ।

यति एअरका कर्मचारीले सुरुमै नमस्कार गरे । एकैछिनमा आईडी र बोर्डिङ पास सँगै दिएर र भने, ‘दुई नम्बर गेटमा जानुहोला, ‘तपाईँको यात्रा शुभ होस् म्याम ।’ अनि दुई हात जोडेरै फेरि पनि भने, नमस्कार ।

नमस्कार गर्दै उनीहरुले शुभयात्राको कामना गर्दा मनमनै खुशी लाग्यो । कति राम्रो सेवा, कति मिठो बोली ! यसअघि अरु जहाजमा यात्रा गर्दा यस्तो नदेखेकाले पनि होला मलाई लाग्यो, नेपाल भ्रमण वर्षमा यति एअरलाइन्सले साँच्चै राम्रो संस्कार सुरु गरेछ । दुई नम्बर गेट अघिल्तिर गएँ । थचक्क बसेँ । अघिल्तिर रहेको डिस्प्लेबोर्डमा हेरें । ‘यति यअर प्लाइट नम्बर.... जनकपुर, अन टाइम’ देखेँ । 

योपालि त जहाज डिले नहुने भयो भन्ठानेर मख्ख परेँ । मेरै अघिल्तिर बसेकी दिदीले भन्नुभयो, ‘विराटनगर त हैन नि !’

मैले भने, ‘हैन जनकपुर ।’

उहाँले भन्नुभयो, ‘नानी म त ११ बजे नै आएकी, साढे १२ बजे उड्नुपर्ने जहाज अझै उडेको छैन ।’

ओहो, जनकपुर त अन टाइम भनेको छ, हेरौं समयमै उड्ला कि ।

उहाँले भन्नुभयोे ‘खै, केही खाएको पनि छैन बिजोग नै भयो ।’ 

म त ढुक्कै थिएँ । २ः३५ मा जहाज उड्छ । २० मिनेटमा जनकपुर पुगिन्छ । होटलमा सामान राखेर बेलुका आरती हेरिन्छ । जानकी मन्दिर डुलिन्छ । यस्तै यस्तै कल्पना गर्दै बसिरहेँ ।

जनकपुरको २ः३५ को उडान ४ बजेलाई सरिसकेछ । कारण लेखिएको थियो ‘सब्सिक्वेन्ट डीले’ अर्थात अघिदेखि नै ढिला भएकाले ।

थप डेढ घण्टा कसरी बिताउने ? यात्रुको भिडभाड थियो । बिहानैदेखि उडान तालिका बिग्रिएको रहेछ । यात्रुहरु एअरलाइन्सका कर्मचारिलाई कराइरहेका थिए । 

जे गरे पनि चार बजेभन्दा अघि जहाज उड्ने छैन  । किन हल्ला गर्नु । चुपचाप बसिरहेँ । चार बजेर १० मिनेट भैसक्यो । अझै पनि जहाज उड्ने छाँट छैन । सोधें । कर्मचारीले भने, ‘अबको १५ मिनेटभित्र उड्छ ।’

कतिपय यात्री त भन्दै थिए, गाडीमा गएको भए बरु जहाजभन्दा छिटो पुगिने रहेछ । कतिपय चाहिँ एअरलाइन्सको काउन्टर अगाडि उफ्रिंदै थिए, ‘हामी दुई नम्बर प्रदेशका मान्छेलाई सोझो भनेर हेपेको ?’ 

कर्मचारी पनि यात्रुसँग ठाडै जवाफ लगाउँदै थिए, ‘तपाईँले भनेर हुन्छ, आफ्नो समय हुन्छ ।’

हाम्रो पनि त समय हुन्छ । त्यही समयकै कारणले त हो मैले पनि जहाजमार्फत जनकपुर जाने टिकट काटेको । जहाजले ‘सब्सिक्वेन्ट डीले’ भनेर कारण दिएजस्तै समयमा गन्तव्यमा नपुग्दा यात्रीलाई पनि त समस्या हुन्छ । 

अब भने मलाई अघि नम्र स्वरमा ती कर्मचारीले भनेको शुभ यात्रा, अशुभ लाग्न थाल्यो । 

झण्डै ४ः४५ तिर जहाज उड्ने भयो । त्यसमा पनि ५ मिनेट त यअर ट्राफिकका कारण टेकअफका लागि कुर्नु पर्‍यो । तर जे भए पनि तीन घण्टा कुर्दाको तनाव जहाजमा बसेपछि अलि कम भयो । 

जहाजले भुईँ छाड्नासाथ मोबाइल निकालें र काठमाण्डौको फोटो खिचें । कोटेश्वरमाथिबाट जहाज भक्तपुरतिर घुमेपछि लाग्यो जहाज अब सिधा भयो । अनि अलिकति मुन्टो झ्यालतिर फर्काएँ ।

देब्रेतिर गाला र घाँटीमा असाध्यै तातो हावाले छोयो । झसङ्ग भएँ । पहिले पहिले चढेका जहाजमा त यस्तो तातो हुँदैनथियो । हतार हतार एसी घुमाएँ । एसी बन्द थियो, हावा आएकै थिएन । फेरि सिटबाट मुन्टो झ्यालतिर तन्काएँ । उसैगरी तातो हावा आयो । मन ढक्क फुल्यो । आगो लाग्या त हैन ? हतार हतार जहाजको पङ्खातिर हेरेँ । ठिकठाक छ । 

त्यसपछि सेतै हिमाल देखिन थाल्यो । हिमालले ध्यान तान्यो शायद । किन तातो भयो भनेर घुमिरहेको दिमाग पनि ठण्डा भएछ । 

तर जहाज अलि असामान्य जस्तो लाग्न थाल्यो । घरी हिमाल असाध्यै तल त घरी असाध्यै माथि देखिन थाले । जमिन देखिएन । मात्र हिमाल र बादलको तह एउटै भएजस्तो देखियो । जहाजमा तातो पनि झन् झन् बढ्दै गयो । 

यस्तै ८ देखि १० मिनेट उडेको हुनपर्छ । मैले समयको यकिन गरिनँ । यात्रु कोही पनि बोलेका थिएनन् । सायद मैलेजस्तै केही मेसो पाएका थिएनन् कि । एकैछिनमा जहाजको गति अर्कै जस्तो लाग्यो । 

एअरहोस्टेज अघिल्तिर आइन् । सतर्कताको घण्टी बजाउँदै मसिनो स्वरमा भनिन्, ‘जहाज हिट भएकाले हामी काठमाण्डौ विमानस्थल फर्किंदैछौं, धैर्य गर्नुहोला ।’

जहाजमै खराबी आएकाले पो अघि उड्नासाथ तातो हावा आएको रहेछ । बल्ल थाहा भयो । दिमाग पुरै हल्लियो । केही सोच्नै सकिनँ । टाउकोदेखि खुट्टासम्म झनन्न भयो ।

हातखुट्टा काँप्न थाले । टाउको फनफनि घुम्न थाल्यो । आफ्नो जीउ आफ्नै हो कि हैन जस्तो लाग्न थाल्यो । खै किन हो, दुवै हातले च्याप्प सिट समातेछु । अनि, वरिपरी आफैंँ आँखा डुलेछन् । सबैको अनुहार रातो थियो । सबै निशब्द थिए । सबैको अनुहारमा डरले राज गरिसकेको थियो । मलाईजस्तै डर त उनीहरुलाई पनि लाग्यो होला नि ।

जहाजको तातो सहन गाह्रो भइरहेको थियो । सिट हेरें । झ्यालबाट बाहिर हेरें । अनुहारमा चिटचिट पसिना आयो ।

जहाज चढ्दा केही खराबी आयो भने मरिन्छ भनेर दिमागमा भरिएकाले पनि होला । मलाई त्यो बेला अब बाँच्छु जस्तो लागेन । मेरा दिन यति नै रहेछन् जस्तो लाग्न थाल्यो ।

कसरी मर्नुपर्छ होला ? मर्ने बेला कति पीडा हुन्छ होला ? सास झन् झन् बढ्यो । जहाजको तातोभन्दा तातो र रातो त मेरो अनुहार भएको थियो । झ्यालबाट तल हेर्छु बादल मात्र देख्छु । झन डर लाग्यो । 

लाग्यो, केही गरी काठमाण्डौमा ल्याण्ड नगर्दै आगो लाग्यो भने ! जहाज जल्दै काठमाण्डौको घनाबस्तीमा झर्यो भने  ! जहाज भन्दा छिटो मनमा तर्कना कुद्न थाले । 
मर्न त एक दिन सबैले मर्नै पर्छ । तर मर्छु कि भन्ने डरले मर्नुभन्दा धेरै छटपटी हुँदो रहेछ र त्यो सहन झनै गाह्रो रहेछ । 

मलाई लाग्थ्यो मानिसले मर्ने बेला कसलाई सम्झन्छ होला ! मैले त खै किन हो कसैलाई सम्झिनँ । बस् अब मर्ने क्षण आउँदैछ भनेर त्यसैलाई सम्झिएँ । त्यहीसँग डराए । 

घाँटीमै आइसकेको बचाउ भन्ने शब्द पनि मनमनै दबाएँ । मुटुले त ढ्याङ्ग्रो ठोकिरहेको थियो ।

जहाज अझैं तातो भयो र आगो लाग्यो भने म मात्र हैन, मजस्तै अरु झण्डै ७० जना पनि त मर्छन्  !

अरु पनि मर्दैछन् भन्ने ठानेर आफ्नो चित्त आफैंले बुझाएँ । खासमा एक्लै मर्न पनि डर लाग्दो रहेछ । डर त थियो नै, त्यसमाथि विमानमा कुदिरहेको तातो हावामा सास फेर्न पनि गाह्रो भैरहेको थियो । तर अरु पनि मसँगै मर्छन् भन्ने सोच्न थालेपछि सास फेर्न अलि सहज भएको अनुभव गरेँ । 

केही समयपछि बिस्तारै घरहरु देखिन थाले । बाँच्ने आश थोरै बढ्यो । तन्की तन्की हेरेँ । तर ठाउँको मेसो पाइनँ । एकछिनमा जहाजले पाङ्ग्रा झार्यो । अब भने काठमाण्डौ केही समयमै पुगिन्छ जस्तो लाग्यो ।

जहाज तलतल झरेपछि तातो पनि कम हुँदै गयो । तातो कम भएपछि एअरहोस्टेज पनि यताउता हिँड्न थाले । एकजना यात्रुले सोधे, ‘काठमाण्डौमा एअर ट्राफिक होला, तर हाम्रो जहाजलाई त प्राथमिकता देला नि !’

एयरहोस्टेजले अँ भन्ने संकेत दिन मुन्टो हल्लाइन् । जहाज तल झर्दै गयो, बस्ती पनि बाक्लिदै गयो । जहाजको उत्राई र आँखामा बस्तीको घनत्व बृध्दिसँगै सुकिसकेको पात जस्तो मेरो बाँच्ने आश पनि घाम र पानी पाएर हरियो भएका सालको पात भएर फक्रिदै गयो । 

त्रास र डरको त्यो समयमा सेकेण्ड पनि घण्टा जस्तो लामो लाग्यो । मेरो हिसाबमा काठमाण्डौबाट उडेको लगभग १८ मिनेटपछि जहाज फेरि काठमाण्डौमा अवतरण गर्‍यो । बौद्धतिरबाट जहाजले आपतकालीन अवतरण गर्दा पनि मेरो मन आफु बाँचे भनेर ढुक्क भएको थिएन । 

त्यताबाट जहाजले अवतरण गर्दैछ भन्ने थाहा पाएपछि यूएस बङ्ला जहाज सम्झिएँ । त्यतैबाट ल्याण्ड त गरेको थियो नि त्यो जहाज पनि । बिमानस्थलमै आइसकेपछि त त्यति धेरै मानिसको ज्यान गयो । अझ आफू चढेको जहाजमा त खराबी आएको छ । कसरी ढुक्क हुनु ? 

जहाज पूर्ण रोकिएपछि ढोका खुल्यो । भुईँमा झर्दा लाग्यो म फेरि जन्मिएँ । जन्मिनासाथ बच्चा रोएजस्तै मलाई पनि जहाजबाट भुईँमा टेक्दा आमालाई अंगालो हालेर रुन मन लागेको थियो । भक्कानिएकी थिएँ । हातखुट्टा थरथरी काँपे । बसमा बस्दा ज्यान यति हलुका अनुभव भयो नि, साँच्चै मरेर बाँचे जस्तै लाग्यो । 

दुई नम्बर गेट छेवैको काउण्टरमा बसेका कर्मचारीको अनुहारको पनि रङ उडेको थियो । बिहानदेखि डीले भएको जहाज, अनि पर्खिरहेका यात्रु । त्यसमाथि उडेका जहाजमा पनि खराबी आउनु । उनीहरु त्यसकै तनाबमा थिए शायद ! 

मसँगै जहाजबाट फर्किएका यात्रुहरु कराउन थाले । साँच्चै डरले यति गलिंदो रहेछ भन्ने त्योबेला बोध भयो । म त बोल्नै सकिनँ । एकैछिनमा हामीलाई अर्को जहाजमा राखेर उडाउने भयो ।  

झण्डै आँधा घण्टापछि फेरि यतिको अर्को जहाजमा चढियो । खै किन हो अब मर्छु भन्ने डर लागेन । २० मिनेटको उडानपछि जनकपुर पुगियो । सबै कुरा समय तालिका बमोजिम भैदिएको भए दिउँसो ३ नबज्दै जनकपुर पुगिन्थ्यो । तर पुग्दा साँझको लगभग सात बज्यो । 

मलाई सधैं लाग्छ, केही भइहाले गाडीमा विकल्प हुन्छ । बिग्रिए बाटोमै बनाउन मिल्छ । तर उड्ने जहाज आकाशमै बिग्रियो भने के गर्नु ! 

अहिले हामी संसारभरका मान्छेलाई नेपाल घुम्न भनेर बोलाइरहेका छौं । काठमाण्डौ ओर्लेर नेपालका विभिन्न ठाउँ पुग्नको लागि उनीहरुमध्ये धेरै जहाजमै चढ्छन् ।

जहाजबाटै हिमाली दृश्यको अवलोकन गर्छन् । म चढेको जहाजमा कुनै विदेशी बसेको भए उसको दिमागमा झन् कति असर गथ्र्यो ? उसले अरुलाई कस्तो सन्देश पुर्याउँथ्यो ?

सात दिन भन्दा धेरै भैसक्यो, तर मनको अत्यास जस्ताको तस्तै छ । साँच्चै जहाजमा आगो लागेको भए ! उचाइ कम गर्दा पनि जहाजको तातो कम नभएको भए ! मेरो मन यिनै प्रश्नले अहिले पनि काँपिरहेको छ । संभवतः जहाजभित्र मडारिएको त्यो तातो हावाले मेरो मनलाई सधै अत्याइरहनेछ ।

अन्तिम अपडेट: बैशाख २३, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया