प्रदेश सरकारको दुई वर्ष : यस्ता छन् उपलब्धि

 फागुन ३, २०७६ शनिबार १३:३६:४३ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश सरकार स्थापना भएको दुई वर्ष पूरा भएको छ ।शनिबार दोश्रो वार्षिक उत्सव मनाउँदै गर्दा प्रदेश सरकारले यो अवधिमा गरेको कामको समीक्षा गरेको छ  ।

प्रदेश सरकारले प्रशस्तै काम गर्न सक्ने भए पनि नगरेको अरोप भने लाग्दै आएको अवस्थामा सरकारले यो बीचमा गरेको कामको बारेमा जानकारी गराएको हो । प्रदेश सरकारको वार्षिक उत्सव कार्यक्रमको अवसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुई वर्षकाे अवधिमा गरेका कार्य मुख्य उपलब्धि सार्वजनिक  गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्यासीले सबै नागरिकसँग गरेको प्रतिबद्धतालाई आधारलाई बनाएर कार्यक्रम तथा योजनाहरु ल्याएकोमा आफू सन्तुष्ट रहेको बताउनुभयो । हरेक योजना तथा कार्यक्रमलाई सुशासन र पारदर्शिता कायम राख्न सबै पक्ष लाग्न जरुरी रहेको प्रदेश प्रमुख अधिकारीले औँल्याउनुभयो ।

धेरै चुनौतीका बीचमा प्रदेश सरकार सुरु भएको स्मरण गर्दै मुख्यमन्त्री शेरधन राईले दुई वर्षलाई महत्वपूर्ण आधार तय गर्ने अवसर वर्षको रुपमा प्रयोग गरेको बताउनु भयो । प्रदेश सरकार सही बाटोमा सकारात्मक उपलब्धिका साथ अघि बढेको राईको दावी छ ।  

मुख्यमन्त्री राईले यो दुई वर्षको अवधिमा संघीयता र संविधान कार्यान्वयन काम भएको, प्रदेश संरचना नयाँ भएकोले त्यसलाई स्थापित गर्ने लगायतमा समय खर्चिएकाे स्पष्ट पार्नुभयो ।

‘प्रदेश संरचनालाई बलियो बनाउँदा मात्र संघीयता बलियो हुने भएकोले त्यसलार्ई बलियो बनाउने काम भयो ’, मुख्यमन्त्री राईले भन्नुभयो,’यसैलाई स्थापित गर्नको लागि समय खर्चिएको हो ।’

जनताको अपेक्षा  ७३० दिनमा पूरा गर्न सम्भव नभएको बताउँदै यस अवधिमा  जनताको न्यूनतम आवश्यकता भने पूरा गर्दै गएको जानकारी दिनुभयो । दुई वर्षमा ३९ वटा कानुन तर्जुमा गरी त्यसलाई कार्यान्वयनमा लैजानको लागि नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र गठनआदेशहरु ल्याएको बताउनुभयो ।

प्रदेशको राजधानी सर्वसहमतिको आधारमा तोकिएको छ, मुख्यमन्त्री राईले भन्नुभयो, ‘सहमति र सहकार्यको अनुपम नमूना प्रदेश १ सरकारले प्रस्तुत गरेकोले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने छ।’

प्रदेश सरकारले अन्तर वित्त व्यवस्थापन तथा हस्तान्तरण र राजश्व संकलनमा सहमति समझदारी गरेको, प्रदेश समन्वय परिषद्को तीनवटा  बैठक गरेर स्थानीय तहसँगको सम्बन्धलाई प्रभावकारी बनाएको राईको दावी छ ।

प्रदेश सरकारको उपलब्धि

प्रथम आवधिक योजना निर्माण गरेको, मध्यम कालिन खर्च संरचना समेत लागू गरिएकोलाई उपलब्धिको रुपमा सरकारले लिएको छ । परियोजना बैंक तयार गरी २६ परियोजनालाई अगाडि बढाउने योजनाका साथ बैशाखमा लगानी सम्मेलन गर्ने  योजना मुख्यमन्त्री राईले सुनाउनु भयो ।

प्रदेश योजना आयोग, लगानी बोर्ड, प्रदेश लोक सेवा आयोग गठन गरेको समेत उपलब्धिको रुपमा लिएको छ । यो दुई वर्ष आधार तय गर्ने वर्षको रुपमा मात्र नभएको र विकासको खाका आगाडि सारेको स्पष्ट गर्नुभयो ।

१० वर्षे सडक योजना बनाएको, प्रादेशिक सडक निर्माण भएको, पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल, १५ वटा झोलुङ्गे पुल निर्माण, १० वटा मोटरेवल पुल निर्माणको कामहरु सम्पन्न भएको मूख्यमन्त्री राईले दावी गर्नुभयो ।

प्रत्येक प्रादेशिक  निर्वाचन क्षेत्रमा ६२ वटा बहुवर्षिय सडक निर्माण, ८७ वटा मुुख्यमन्त्री ग्रामीण सडक, १२६ मेटरेवल पुल र ११४ वटा झोलुङ्गे पुलहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

कृषि योग्य जमिनमा सिँचाइ पुर्याउन १२९ वटा योजनाहरु सम्पन्न भएको, ६३१ वटा योजनाहरु निर्माणाधीन रहेका छन् । खानेपानीका आयोजनाहरु ११० वटा सम्पन्न भएको  र ९४९ वटा आयोजनाहरु निर्माणको चरणमा रहेको छन्  ।

जनता आवास कार्यक्रम अन्तर्गत १७१ वटा घरहरु निर्माण सम्पन्न भएको, मनमोहन प्राविधिक विश्वबिद्यालयको स्थापना, १० लाख बढी घरहरुमा स्टीकर टाँस अभियान सञ्चालन, परियोजना बैंकको स्थापना, मअघि बढ्छु , सगरमाथा टिन्स क्लबको अभियान, डिजिटल साक्षरता अभियान र अनलाई शिक्षा, बैज्ञानिक सम्मेलनसमेत सम्पन्न भएको  मुख्यमन्त्री राईको दावी छ ।

मिल्क होली डेको अन्त्य, कोशी रिफ्रेससमेन्ट सेन्टरको डीपीआर तयार भई निर्माणको चरणमा रहेको, मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम कार्यान्वयनमा गएको, सोधखोज र अनुसन्धानका लागि एक प्रादेशिक अनुसन्धान केन्द्र स्थापना गर्ने प्रकृया अगाडि  बढाईएको मुख्यमन्त्री तराईले जानकारी दिनुभयो ।

विश्व किर्तिमानीलाई समेत सम्मान गर्नुलाई प्रदेश सरकारले उपलब्धि मानेको छ । ९० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान, साफ गेम, राष्ट्रिय खेलकुद प्रतियोगिता र महिला साफ प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान, छिन्ताङ घटनाका सहिदलाई राहत दिनेजस्ता कार्यक्रम समेत भएको  स्पष्ट पार्नुभयो ।

जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम, प्रदेश १ लगानीको लागि अनुकूल रहेको बारेमा जानकारी दिन सफल भएको, पहिलो पटक १ अर्ब वैदेशिक अनुदान लिन प्रदेश १ सफल  एको समेत उपलब्धीको रुपमा लिएको राईको दावी छ ।  

एक वर्ष अगाडि  ५ प्रतिशत विकास खर्च रहेको देशमा अहिले त्यही समयमा  २५ प्रतिशत बढी खर्च भईसकेकोले  सबैभन्दा बढी पुँजीगत खर्च गर्ने प्रदेशको रुपमा पनि सफल भएको राईले बताउनु भयो ।

प्रदेश सरकारको भ्रष्टाचार बिरुद्धको अभियान र शून्य सहनशीलताको नीतिलाई सबैले साथ दिएकोमा धन्यवाद दिनुभयो । ‘जनताको करबाट सेवासुविधा लिएर जनतालाई दु:ख दिने काम कदापी प्रदेश सरकारलाई सह्य हुँदैन, मुख्यमन्त्री राईले भन्नुभयो, ‘यदि जनतालाई दुःख दिएर पुरानो मान्यता र शैलीबाट काम हुन्छ भने प्रदेश सरकार कठोरताका साथ प्रस्तुत हुन्छ ।’

अन्तिम अपडेट: बैशाख २, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया