बार्सिलाेनाले शीर्ष स्थानकाे रियल मड्रिडसँग अङ्क बराबरी गर्‍याे

 फागुन ४, २०७६ आइतबार ६:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले तेस्रो स्थानको गेटाफेमाथि दुई–एककाे जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँग अङ्क बराबरी गरेको छ ।

घरेलु मैदान नाउ क्याम्पमा झण्डै ९० हजार समर्थकमाझ बार्सिलोनाले पहिलो हाफमै दुई–शून्यकाे अग्रता लिएको थियो । ३३औँ मिनेटमा लियोनल मेस्सीको पासमा एन्टोइन ग्रिजम्यानले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

त्यसको ६ मिनेटपछि सेर्गी रोबर्टोले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पाहुना टोली गेटाफेले सान्त्वना गोल फर्काए पनि थप गोल गर्न सकेन । ६६औँ मिनेटमा माटाको पासमा एङ्गेलले गेटाफेका लागि गोल गरे । 

जितपछि बार्सिलोनाको २४ खेलबाट ५२ अङ्क भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल म्याड्रिडको पनि ५२ अङ्क नै छ । गेटाफेको भने २४ खेलबाट ४२ अङ्क छ । गेटाफे तेस्रो स्थानमा यथावत् छ । 

शनिबार नै भएका अन्य खेलमा भ्यालेन्सिया र एट्लेटिको मड्रिडले दुई–दुई गोलको बराबरी खेलेका छन् । मालोर्काेले एलाभेसलाई एक–शून्यले हराएको छ । 
त्यस्तै भिल्लारियलले लेभान्टेलाई दुई–एकले हराउँदा ग्रानाडाले पनि भाल्लाडोलिडलाई दुई–एकले हराएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया