यू–१९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको तयारी पूरा

 फागुन ४, २०७६ आइतबार १५:४१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिमालयन स्पोर्टस म्यानेजमेन्टको आयोजनामा हुन लागेको यू–१९ दुई दिवसीय क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।

नेपालमा पहिलो पटक यू–१९ स्तरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता हुन लागेको हो । ५ गतेदेखि १९ गतेसम्म हुने यो प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा अर्किड इन्टरनेश्नल कलेज रहेको छ । यस्तै वागमती प्रदेश खेलकुद विकास परिषद् सहप्रायोजक रहेको छ ।

लामो ढाँचाको क्रिकेटसँग अभ्यस्त गराउने उद्देश्यले यो प्रतियोगिता गरिन लागेको हो । प्रतियोगतामा काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर, ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी, आसिस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर र उदयीमान खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

१४ दिनसम्म चल्ने प्रतियोगितालाई नेपाल क्रिकेट संघले प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा रातो बल र सेतो ड्रेसको प्रयोग गरिनेछ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।

जसमा दुवै समूहका शीर्ष दुई टिमले फाइनल खेल्नेछन । प्रतियोगिताको अनुमानित लागत ३० लाख रूपैयाँ रहेको छ जसकाे ५० प्रतिशत रकम मुख्य प्रायोजकले दिनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया