बिग्रन थाले मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका उपकरण

 फागुन ६, २०७६ मंगलबार १५:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको रिजर्भ्वायर निर्माण क्षेत्रमा रहेका उपकरण बिग्रन थालेका छन् । इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका उपकरण लामो समय ठेक्का नलाग्दा र नयाँ कम्पनीले प्रयोग नगर्दा बिग्रन थालेका हुन् ।

उपकरण प्रयोगमा नआइ नष्ट हुने अवस्थामा पुग्दापनि चासो नदिएको भन्दै संसदीय समितिले चासो दिएको छ । उपकरण नष्ट हुने अवस्थामा पुगेसँगै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले उपकरण कसको हो र किन अपलपत्र परेका हुन भन्ने विषयमा अनुसन्धान थालेको छ । 

उपकरण राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने समितिका सभापति तारादेवी भट्टले बताउनुभयो । सरकारले आउँदो असारसम्म मेलम्चीको खानेपानी काठमाण्डौ ल्याउने बताएको छ । 

आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि पानी काठमाण्डौमा वितरण गरिनेछ । आयोजनाले अहिलेसम्म ९४ प्रतिशत भौतिक प्रगति गरेको छ भने २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भैसकेको छ । 

करोडौं रुपैयाँ मूल्य पर्ने यी उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भए पनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएका कारण यी उपकरणहरु अलपत्र परेका हुन् । तर उपकरणको संरक्षण र प्रयोगमा आयोजनाले कुनै चासो देखाएको छैन् ।

आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले फेरि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो ।

तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याइ नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ । जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित भएकाे छ ।

करोडौं मूल्य पर्ने उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुगेपछि राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गत आइतबार अनुगमन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया