आउँदो दुई वर्षमा सबै नेपालीको घरमा बिजुली, ९० प्रतिशत खेतियोग्य जमिनमा सिँचाइ : उर्जामन्त्री पुन

 फागुन ६, २०७६ मंगलबार १८:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले आउँदो दुई वर्षमा सबै नेपालीहरुको घरमा विद्युत पुर्‍याउने भएकाे छ ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पुर्‍याउने बताउनु भएकाे हाे । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले अहिले ८८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेको र चालु आ‍‍.वमा ४० जिल्लामा विद्युतिकरण गरिने जानकारी दिनुभयाे ।

सांसद खगराज अधिकारीले विद्युतमा आत्मनिर्भर हुँदै निर्यात गर्नेतर्फ सरकार अगाडि बढिरहेको अवस्थामा सबै नेपालीको घरमा कहिले बत्ती पुग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

सांसद महेश बस्नेतले पोल सार्ने क्रममा अनियमितता हुने गरेको बताउनुभएकाे थियाे ।  जवाफमा मन्त्री पुनले स्थानीय तहहरुले आफ्ना कार्यक्रम अन्तर्गत सडक विस्तार गर्ने क्रममा समस्या आउने गरेको बताउनुभयो । 

मन्त्री पुनले विद्युत प्राधिकरण अन्तर्गतका आयोजनाहरुमा ३ लाख र सामुदायिक विद्युतिकरणका आयोजनाहरुतर्फ १ लाख काठका पोलहरु रहेको बताउनुभएको छ । सांसदहरुले काठका पोलहरुले दुर्घटना बढेको भन्दै यसकाे विस्थापनबारे प्रश्न गर्नेभएकाे थियाे । 

मन्त्री पुनले देशभरी रहेका झण्डै ४ लाख काठका पोलहरुमध्ये ३० हजार पोलहरु विस्थापन भएको र बाँकी पोलहरु प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा क्रमशः विस्थापन गर्ने तयारी भइरहेको  बताउनुभयो । कर्णाली र सुदूरपश्चि प्रदेशमा यही आर्थिक वर्षमा टेण्डर आह्वान गरेर आगामी २ वर्षभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाउने उहाँले बताउनुभयो ।

मन्त्री पुनले बुढी गण्डकीको ठेक्का अहिलेसम्म कसैलाई नदिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘विनाप्रतिस्पर्धा कसैलाई दिएको छैन । मुआब्जा पूर्ण रुपमा सकाएर अगाडि बढाएर जाने छ । अहिलेसम्म कसैलाई दिएको छैन ।’ 

पुनले बुढी गण्डकी प्रभावित गोर्खाका ८० र धादिङका ६० प्रतिशत जनताले मुआब्जा पाएको बताउनुभएको छ । प्रभावित क्षेत्रका स्थानीयका केही गुनासाहरु आएको बताउँदै पुनले गुनासा सम्बोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको बताउनुभएको छ । 

सांसद दिव्यमणि राजभण्डारीले माथिल्लो तामाकोशीको ९८ प्रतिशत काम सकिएको लामो समय भए पनि पछिल्लो २ वर्षमा कुनै प्रगति नै हुन नसकेको भन्दै प्रश्न गर्नुभएको थियो । मन्त्री पुनले तामाकोशीको ९९ प्रतिशत काम सम्पन्न भएको र यो आर्थिक वर्षको अन्त्यसम्म आयोजनाको सम्पूर्ण काम सकिने बताउनुभयो । 

मन्त्री पुनले आर्थिक वर्ष २०८०/०८१ सम्ममा ९० प्रतिशत खेतियोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने समेत बताउनुएको छ । कुल खेतीयोग्य जमिन २६ लाख ४१ हजार हेक्टर मध्ये अहिलेसम्म ६५ दशमलव ४७ प्रतिशत जमिनमा सिँचाई सुविधा पुगेको उहाँले बताउनुभयो ।

कुल खेतियोग्य जमिनमध्ये २२ लाख ६५ हजार हेक्टर सिँचाइ योग्य रहेको छ । अहिलेसम्म १४ लाख ८३ हजारमा सिँचाइ सुविधा पुगेको मन्त्री पुनले बताउनुभयो । आगमी पञ्चवर्षीय योजनामा ३ लाख हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य सरकारले लिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया