जिल्ला समन्वयका कर्मचारीलाई नगरपालिकाले हाजिर नगराउँदा अलपत्र

 साउन ९, २०७५ बुधबार ८:३:३४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप –  जिल्ला समन्वय समिति रामेछापमा कार्यरत ५ जना कर्मचारीहरुलाई मन्थली नगरपालिकामा समायोजन हुने गरी पठाइए पनि ती कर्मचारीलाई मन्थली नगरपालिकाले हाजिर नगराउँदा अलमलमा परेका छन् । 

मुलुक संघीय संरचना गइसकेपछि जिल्ला विकास समिति खारेजी सँगै जिल्ला समन्वय समिति नामाकरण गरी त्यस कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई स्थानीय तहमा समायोजन गर्ने केन्द्रीय निर्णय सँगै जिल्ला समन्वय समिति रामेछापले निर्णय गरेर आर्थिक वर्ष ०७५÷०७६ श्रावण १ गतेदेखि हाजिर हुने गरी मन्थली नगरपालिमा पठाए पनि कर्मचारीहरुलाई मन्थली नगरपालिकाले हाजिर गराएको छैन । 

जिल्ला समन्वय समिति रामेछापमा कार्यरत कार्यक्रम अधिकृत गोविन्द कटेल, नासु राजन गुरागाई, राजेन्द्रकुमार श्रेष्ठ, खरिदार सकुन्तला माझी र राजु माझीलाई मन्थली नगरपालिकामा कामकाज गर्ने गरी जिल्ला समन्वय समितिले निर्णय गरेर गएको श्रावण १ गतेदेखि हाजिर हुनेगरी पठाएको भए पनि मन्थली नगरपालिकाले ती कर्मचारीहरुलाई हाजिर नगराएको जिल्ला समन्वय समिति रामेछापका जिल्ला समन्वय अधिकारी कमल केसीले बताउनुभयो । उहाँले कर्मचारीको चाँडै व्यवस्थापन हुने आशामा रहेको प्रतिक्रिया दिनुभयो । 

जिल्ला समन्वय समितिले मन्थली नगरपालिकामा दरबन्दी नै नभएको ठाउँमा कर्मचारी पठाएर गलत गरेको मन्थली नगरपालिकाले जनाएको छ । नगरपालिकामा एकातिर दरबन्दी छैन । आएका कर्मचारीहरु वडामा जान नमान्ने, कार्यालयमा आएका कर्मचारीहरुले कार्यसम्पादन मूल्यांकन लिएर आएका छैनन् । यदी आएका कर्मचारीहरुलाई नगरपालिकाले हाजिर गराएर काम लगाएको केही महिनामा राजिनामा दिए भने त्यसको व्ययभार नगरपालिकाले धान्न नसक्ने भएकाले ती कर्मचारीहरु हाजिर नगराएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘जिल्ला समन्वयवाट आएका कर्मचारी मध्ये कोही ३ नं प्रदेशको राजधानी हेटौंडामा बस्ने कर्मचारीलाई पनि तलब खुवाउनु पर्ने, कोही वडामा जान नमान्ने कर्मचारीलाई नगरपालिकामा हाजिर गराउँदा बामे सर्दै गरेको पालिकालाई कर्मचारी धान्न नै गाह्रो पर्ने भएकाले ती कर्मचारीहरु कुनै पनि हालतमा मन्थली नगरपालिकाले हाजिर नगराउने बताउँदै बस्नेतले मन्थली नगरपालिकालाई डम्पिङसाइड नसम्झन पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । 

यदी समन्वयले पठाएको निर्णय सच्चाएर पुनः पठाएका कर्मचारीहरुलाई वडा सचिवमा जाने गरी निर्णय सच्चाउने र ती कर्मचारीहरुको बाँकी रहेको विदा, तलव, सेवासुविधा लगायतका विषयहरु र कार्यसम्पादन मूल्यांकन फारामसहित पठाएमा मन्थली नगरपालिकाले ती कर्मचारीहरुलाई वडा सचिवको रुपमा नियुक्ती गरी वडा कार्यालयमा पठाउन तयार रहेको जनाएको छ । यदी समन्वयले निर्णय सच्याएर नपठाएमा कुनै पनि हालतमा मन्थली नगरपालिकाले ती कर्मचारीहरुलाई हाजिर नगराउने पनि मन्थली नगरपालिकाले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया