डेब्यु सिजनमै एटलान्टाकाे सानदार जित

 फागुन ८, २०७६ बिहिबार ९:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पहिलो पटक च्याम्पियन्स लिगमा सहभागिता जनाएको इटालियन क्लब एटलान्टाको डेब्यु सम्झनलायक बनेको छ । 

च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब भ्यालेन्सियालाई चार–एकले स्तब्ध पारेपछि एटलान्टाकाे कम्तीमा क्वार्टर फाइनलसम्म पुग्ने सम्भावना बढेको छ । 

सान सिरो मैदानमा भएको खेलमा एटलान्टालाई जित दिलाउनका लागि हान्स हेटबोयरले दुई गोल गरे भने जोसिप इलिसिच र रेमो फ्रेउलरले एक–एक गोल गरे ।

एटलान्टाले सिरी ए को अघिल्लो सिजनमा तेस्रो भएर पहिलो पटक च्याम्पियन्स लिग खेल्न पाएको थियो । च्याम्पियन्स लिगको समूह चरणका सुरुका तीन खेल हारेर पनि एटलान्टा नकआउट चरणमा पुगेको थियो ।

१६औँ मिनेटमा हेटबोयरले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा इलिसिचले गोल गर्दै पहिलो हाफअघि एटलान्टालाई दुई गोलको अग्रता दिलाए ।

५७औँ मिनेटमा इलिसिचले उत्कृष्ट गोल गर्दै एटलान्टालाई तीन–शून्यकाे अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि फ्रेउलरले गोल गर्दै एटलान्टालाई चार–शून्यकाे अग्रता दिलाए ।

६६औँ मिनेटमा डेनिस चेरिसेभले भ्यालेन्सियाका लागि गोल गरे पनि त्यो सान्त्वनामात्र बन्यो ।

बर्गामोमा रहेको गिविस स्टेडियम एटलान्टाको घरेलु मैदान हो, जुन मिलानभन्दा ५५ किलोमिटर टाढा छ । युरोपेली फुटबल महासङ्घले मापदण्ड नपुगेको भनेपछि च्याम्पियन्स लिगका लागि एटलान्टाले सान सिरोमा खेल्ने मौका पाएको थियो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया