जीर्ण कारागार, पाँच गुणा भार

 फागुन ११, २०७६ आइतबार १२:५:५४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – न भौतिक पूर्वाधार न त क्षमता अनुकुलको व्यवस्थापन । आधारभूत आवश्यकताहरुको समेत प्रबन्ध गर्न कठिनाइ बढ्दै जाँदा रुकुम पश्चिममा रहेको जिल्ला कारागारमा सुरक्षा चुनौती बढेको छ । क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी भएपछि कारागारको व्यवस्थापन र सुरक्षा चुनौती बढेको हो । 

क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण न्यूनतम आधारभूत आवश्कताहरुको प्रयोग गर्न कैदीबन्दीहरुलाई समस्या हुने गरेको छ । पिउने  पानी, शौचालय प्रयोग, खेल मैदान र खेल सामग्री प्रयोग लगायतमा समस्या भइरहेको छ । 

क्षमताका हिसाबले कारागारमा २५ जना कैदीबन्दी राख्न मिल्ने हो । २० जना पुरुष र ५ जना महिलाको क्षमता रहेको जिल्ला कारागामा अहिले एक सय २५ जना कैदीबन्दी छन्, जसमा एक सय १८ जना पुरुष र सात जना महिला छन् । 

कारागारमा सबैभन्दा बढी जघन्य कसुर जन्मकैद वा १० वर्षभन्दा बढी कैद सजाय हुने कसुरका चार जना महिला र ६९ पुरुष गरी ७३ जना कैदी बन्दी रहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो । 

त्यस्तै कारागारमा गम्भीर कसुर वा तीनदेखि १० वर्षसम्म सजाय हुने कसुरका ३२ जना र सामान्य कसुर वा तीन वर्षभन्दा कम सजाय हुने कसुरका तीन महिला र १७ पुरुष गरी २० जना कैदीबन्दी रहेका छन् ।  

डीएसपी केसीले बाहिरी सुरक्षा व्यवस्था मजबुत पारिएको भए पनि क्षमताभन्दा बढी कैदीहरुको आन्तरिक व्यवस्थापनमा भने कारागार कार्यालयलाई समस्या भइरहेको बताउनुभयो । सीपमूलक काम गर्न र खेल्नका लागि पर्याप्त ठाँउ नभएको उहाँले गुनासो गर्नुभयो । 

कारागार अनुगमनपछि कैदीबन्दीहरुलाई परिचयपत्रको व्यवस्था र कैदीबन्दी भेट्न आउनेहरुलाई छुट्टै जकेटको प्रबन्ध गर्न लगाइएको उहाँले बताउनुभयो ।

२०४२ सालमा निर्माण गरिएका दुई वटा भवनका ६ वटा कोठामा एक सय २५ जना अटाउन हम्मे हम्मे परिरहेको कारागार प्रशासनले जनाएको छ । जीर्ण भौतिक संरचनामा क्षमताभन्दा बढी कैदीबन्दीलाई व्यवस्थापन गर्नुपर्दा चुनौती बढेको हो ।  

कारागार निर्माणको लागि विभिन्न निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएको कारागार स्रोतले जनाएको छ । रुकुम पूर्वमा कारागार स्थापना नहुँदा दुवै जिल्लाको लागि रुकुम पश्चिमको यही कारागार प्रयोग हुँदै आएको छ । 

विसं २०७४ असोज १९ बाट विधिवत् रुपमा छुट्टै जिल्लाको रुपमा कामकाज सुरु गरेको रुकुम पूर्वमा अहिलेसम्म जिल्ला कारागार सञ्चालन हुन सकेको छैन ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया