सोलु करिडोरको अवरोध हटाउन कुलमान घिसिङ फिल्डमा

 फागुन १२, २०७६ सोमबार १६:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले उदयपुरको कटारी नगरपालिका ४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना अन्तर्गत मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिएको हो । 

स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट सार्न माग राख्दै झण्डै दुई वर्ष अघिदेखि निर्माणमा अवरोध गरिरहेका छन् । त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नुपर्ने छ ।
अवरोधका कारण निर्माण ढिलाइ हुँदा सोलुखुम्बुमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् खेर जाने अवस्था आउन नदिन प्राधिकरण उच्च व्यवस्थापनले अवरोध हटाउन पहल गरेको हो ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीलगायतको टोलीले आइतबार अवरोधस्थलको निरीक्षण गरी प्रस्तावित प्रसारण लाइन रुटको निरीक्षण गर्दै स्थानीयसँग छलफल गरेको छ । 
छलफलमा कार्यकारी निर्देशक घिसिङले सम्पूर्ण प्रत्रिलयाहरु पूरा गरी निर्माण भइरहेको आयोजनाको रुट सार्न नसकिने प्रष्ट पार्नुभयो । 

‘घना बस्ती र खेतीयोग्य जमिनलाई कम क्षति पुग्ने गरी रुट तय गरिएको छ, यो लाइन तत्काल बनाउन सकेनौँ भने निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाह गर्न नसकेर ठूलो रकम क्षतिपूर्ति तिर्नुपर्ने अवस्थामा छौँ । यस्तो संवेदनशील आयोजनाको अहिले आएर रुटलाई अलिकति पनि दायाँबायाँ गर्यौँ भने लाइन नै बन्दैन, त्यसैले रुट सार्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘लाइनमुनि पर्ने जग्गाको क्षतिपूर्ति रकम अधिकतम उपलब्ध गराउन प्रयास गर्नेछौँ, आयोजनाले उपलब्ध गराउन सक्ने अन्य सुविधाहरु र सामाजिक उत्तरदायीत्व अन्तर्गतका कामका बारेका छलफल गरौ, लाइन तत्काल बनाउनु पर्ने दबाब भएकाले अवरोध हटाएर निर्माणमा सहयोग गरिदिनुपर्‍याे ।’

प्राधिकरणले देशैभरि प्रसारण लाइन निर्माण गरिरहेको उल्लेख गर्दै घिसिङले रुट सार्न थालिएमा कुनै पनि लाइन बनाउन नसकिने बताउनुभयो । 

उहाँले ऐलानी जग्गाको भोगचलन गरी फिल्डबुकमा नाम भएमा मूल्याङ्कित रकमको ७५ प्रतिशतसम्म र फिल्डबुकमा नाम नभएकाले अधिकतम ६६ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्ले अन्य आयोजनाहरुमा यसअघि नै गरिसकेकाले यहाँ पनि त्यो सुविधा उपलब्ध गराइने बताउनुभयो । प्राधिकरणले टावर रहने जग्गाको शतप्रतिशत मुआब्जा र लाइनमुनि ९/९ मिटर दायाँ र बायाँमा पर्ने जग्गाको क्षतिपूर्ति दिँदै आएको छ । 

मेयर श्रेष्ठले अवरोध हटाएर राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग र प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार निर्माणमा १९ ठाउँमा भइरहेको अवरोध हटेमा यसै आर्थिक वर्षभित्रमा प्रसारण लाइनको निर्माण सम्पन्न हुनेछ ।  

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत्लाई  सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको  हो ।  

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ । प्रसारण लाइनमा पर्ने तीन सय तीन वटा टावरमध्ये दुई सय ४८ को जग र एक सय ६० वटा खडा गरिएको छ । ३१ किलोमिटर तार तानिएको छ । 

सोलुखुम्बुको तिङ्लामा १३२/३३ र ३३/११ केभी सबस्टेशनको निर्माण सम्पन्न भइ चार्ज भइसकेको छ । यो सँगै सिरहाको लाहानबाट तिङ्लासम्म ३३ केभी लाइन पुगेको छ । २३ दशमलव ५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् अस्थायी वैकल्पिक व्यवस्थाको रुपमा यही ३३ केभी लाइनबाट जोड्ने प्रयास भइरहेको छ । 

सोलु करिडोर प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । त्यसमध्ये सरकारले प्रतिस्पर्धामार्फत प्रबद्र्धक छनोट गरेका ८२ मेगावाटको तल्लो सोलु र २३ दशमलव ५ मेगावाटको सोलु खोला आयोजनाको निर्माण सम्पन्न भइ प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था पीपीएमा छ । सबै आयोजनाको विद्युत् तिङ्ला सबस्टेसनमा जोडिने छ ।  

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया