ट्रम्प र माेदीकाे गज्जब 'केमेस्ट्री' : ७ पटक अङ्कमाल, ९ पटक 'ह्याण्डशेक'

 फागुन १२, २०७६ सोमबार १८:२:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको पहिलो दिन उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गज्जबको ‘केमेस्ट्री’ देखियो । 

यी दुई नेताबीच पाँच महिनाअघि ‘हाउडी मोदी’ कार्यक्रममा भेट भएको थियो र यस पटक अहमदाबादको मोटेरा स्टेडियमा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भेट भयो । 

ट्रम्प चढेको विमान सोमबार बिहान ११ बजेर ३६ मिनेट जाँदा अहमदाबाद एअरपोर्टमा अवतरण भएको थियो । ट्रम्पको स्वागत गर्न स्वयं मोदी पुगेका थिए । 

ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया तीन घण्टा अहमदाबादमा रहे । यो तीन घण्टामा मोदी र ट्रम्पले सात पटक अङ्कमाल गरे र नौ पटक हात मिलाए । 

त्यस्तै नमस्ते ट्रम्प कार्यक्रममा मोदी र ट्रम्पले ६ पटक अङ्कमाल गरे भने पाँच पटक हात मिलाए । त्यसपछि ट्रम्प ताजमहल हेर्न सपरिवार आगरा पुगे । 

ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प र छोरी इभान्का ट्रम्प पनि भारत भ्रमणमा आएका हुन् । 

अहमदाबाद विमानस्थल उत्रिएपछि ट्रम्प भारतीयहरुलाई सम्बोधन गर्न विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम ‘सरदार पटेल’ मा पुगेका थिए । यो स्टेडियममा एक लाख १० हजार मानिस बस्न सक्ने क्षमता छ ।  

मोटेरा स्टेडियममा ट्रम्पको उपस्थितिमा सहभागीहरुलाई सम्बोधन गर्दै मोदीले अमेरिकी राष्ट्रपति ट्रम्प, पत्नी मेलानिया र छोरी इभान्काको खुलेर प्रशंसा गरे । 

ट्रम्पले पनि मोटेरा स्टेडियममा सम्बोधन गर्दै भने, ‘भारतसँग हामी अत्याधुनिक सुरक्षा प्रणालीका बारेमा सहकार्य गर्नेछौँ । हामी भारतलाई रक्षा उपकरण दिन्छौँ । भारतीय सेना अझै मजबुत हुनेछ । अमेरिका र भारत अतङ्कवादविरुद्ध मिलेर लड्नेछ । हामीले इस्लामिक स्टेटलाई समाप्त गर्‍याैँ । अब बगदादीलाई पनि समाप्त गर्‍याैँ ।’

मोदीले ट्रम्पलाई धन्यवाद दिँदै भने, ‘तपाईँले महात्मा गान्धी, विवेकानन्द र सरदार पटेलको नाम लिनुभयो, यसको लागि तपाईँलाई धन्यवाद । तपाईँले मेरो बारेमा पनि राम्रो भन्नुभयो । भारत र अमेरिकाको मित्रता अझ अघि बढ्नेछ ।’

ट्रम्पले पनि मोदीप्रति आभार व्यक्त गर्दै भने, ‘तपाईँ भारतमा रहनुहुन्छ, यो तपाईँको भाग्य हो । भारतको लोकतन्त्र पूरै विश्वको लागि उदाहरण हो । सबै भारतीयले आफूप्रति गर्व गर्नुपर्छ । अन्त्यमा तपाईँको आतिथ्यका लागि धेरै धन्यवाद ।’

भाषणकै क्रममा मोदीले २२ पटक ट्रम्प भने र ट्रम्पले १२ पटक मोदीको नाम लिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया