दूधको मूल्य समायोजन नगरे सडकमै गाई उतारेर आन्दोलन गर्ने कृषकको चेतावनी

 साउन ९, २०७५ बुधबार १४:२८:० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – दूधको उचित मूल्य नपाएको भन्दै पछिल्लो समय किसानले सडकमै दूध पोखेर विरोध जनाउँदै आएका छन् ।

दूधको मूल्य घटेको भन्दै कृषकले सडकमा दूध पोखेर विरोध जनाएका हुन् । धेरै मेहनतपछि उत्पादन गरेको दूधको मूल्य नपाएको भन्दै उनीहरु सरकारप्रति आक्रोशित भएका छन् । समयमा मागको सम्बोधन नगरे सडकमै गाई ल्याएर आन्दोलन गर्न बाध्य हुने कृषकहरुले चेतावनी दिएका छन् ।

सडकमा दूध पोखेर विरोध जनाएका कृषकहरुले सडकका वटुवालाई दूध बाँडेर विरोध गरेका थिए । अहिले वार्ता भइरहेको र वार्ता मार्फत समस्याको समाधान नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गरेर अगाडि बढ्ने तयारीमा रहेको अगुवा कृषकहरुले बताएका छन् । 

सरकारी स्वामित्वमा रहेको डीडीसीले नै दूधको मूल्य ३ रुपैयाँ घटाएको र त्यसलाई आधार देखाएर निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएको भन्दै किसानहरु आन्दोलित भएका हुन् । निजी डेरी उद्योगहरुले यसअघि पनि जेठमा २ रुपैयाँ ३७ पैसा दूधको मूल्य घटाएको थियो ।

माग बढ्ने र उत्पादन घट्नेबेलामा समेत दूधको मूल्य घटाएको केन्द्रीय जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदीले बताउनुभयो । विदेशबाट आयत गरिएको कम गुणस्तरको पाउडर दूधको कारणले नेपाली किसानहरुले उत्पादन गरेको दूधको मूल्य घटाइएको बताउँदै उहाँले पुरानो मूल्य कायम नगरिए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

किसानले बिक्री गर्ने दूधको मूल्य घटाइए पनि उपभोक्ताले खरिद गर्ने मूल्य भने घटेको छैन । किसानहरुले खरिद गर्ने दाना, चोकर, औषधिलगायतको वस्तुको मूल्य सरकारले नियन्त्रण नगरेको तर किसानले उत्पादन गरेको दूधको मूल्य घटाएको सुवेदीले दूधको लागत मूल्य घटाउनुपर्ने बताउनुभयो । 

सामान्यता किसानहरुले १ लिटर दूध उत्पादन गर्दा करीब ५५ रुपैयाँ प्रति लिटर लागत पर्ने तर अहिलेको मूल्य अनुसार १ लिटर दूध ४५ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

सरकारले दाना, चोकर, औषधिलगायतको मूल्य नियन्त्रण गर्न नसकेको र व्यवसायीहरुले मनलाग्दी मूल्य वृद्धि गरिरहेको तर किसानले उत्पादन गरेको दूधको मूल्य भने पटकपटक घटाएकोले कृषकहरु मारमा परेको बताउछन् । 

चितवनमा दैनिक करीब चार लाख ७० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये करीब दुई लाख ५० हजार लिटर दूध काठमाडांै, पोखरा, हेटौडा, विरगञ्ज लगायतका शहरमा जाने गरेको छ ।

पशुपालनमा अग्रणी स्थानमा रहँदै आएको चितवनमा झण्डै एक हजारको हाराहारीमा पशुपालन फर्म दर्ता भएका छन् । पछिल्लो समय आधाभन्दा बढी फर्महरु बन्द भइसकेका छन् ।
भरतपुरका आर के गाई पालन तथा दूध उत्पादन फर्मका सञ्चालक कुलप्रसाद सापकोटाले दैनिक रुपमा दूध व्यवसाय गरे पनि दूध बिक्रीबाट नाफा कमाउन नसकेको बताउनुहुन्छ । स्थानीय तहमा अधिकार आएपछि झन समस्या बढेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो संरचनाले सबै अधिकार स्थानीय तहलाई दिएकाले पशुपालक किसानका  लागि जनप्रतिनिधिले ध्यान दिन नसकेकोले पशु विकासमा समस्या भएको भरतपुर महानगर पशु शाखा प्रमुख डाक्टर विकास श्रेष्ठले बताउनुभयो ।

पशु विकासका लागि केन्द्रबाट आएको बजेट पनि अन्य क्षेत्रमा खर्च हुँदा सोचेअनुरुप प्रगति हासिल गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । विषयगत कार्यालयका लागि आएको बजेट सम्बन्धित विषयमा खर्च गर्न सके समस्या समाधान हुने उहाँ बताउनुहुन्छ । 

उत्पादन लागत घटाउन नीति तय गर्ने काम गर्नु पर्ने किसानहरुको ठहर छ । कँडेल गाई फामका सञ्चालक डिलाराम कँडेलले राज्यले अब पनि किसानलाई सम्बोधन नगरे खाडी पलाएन हुनुभन्दा अरु विकल्प नभएको बताउनुहुन्छ ।

दूधको मूल्य पटक–पटक घटाउने तर दाना चोक्करको मूल्य दैनिक जसो बढ्ने गरेकोले आफूहरु निकै ठूलो मारमा परेको भन्दै राज्यले यस्ता खाले क्रियाकलाप गर्नेहरुलाई  खबरदारी गर्न नसक्दा किसानहरु निकै ठूलो मारमा परेको उहाँ बताउनुहुन्छ ।

किसानको समस्या समाधानका लागि  कृषक प्रतिनिधि, सरकारी प्रतिनिधि र बजार विशेषज्ञ राखेर मूल्य निर्धारण कमिटी बनाउनु पर्ने राष्ट्रिय व्यवसायीक दूध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे बताउनुहुन्छ । उहाँले राज्यबाट अब पनि किसानलाई झुलाउने काम भए हजारौं गाई  सडकमा झारेर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

व्यावसायीक पशुपालन गर्ने कृषकका लागि सरकारले लिजमा जमिन उपलब्ध गराउनु पर्ने, बैंकले सहज ढंगबाट ऋण उपलब्ध गराउनु पर्ने र किसानहरुको कर्जामा एकरुपता हुनुपर्ने तथा दाना चोक्करको गुणस्तर र मूल्य सरकारले निर्धारण गर्नु पर्ने अधिकारी गाई पालन फर्म भरतपुरका सञ्चालक बिष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

कृषकले भाडामा प्राप्त गरेको जग्गाको करार अवधी कम्तिमा व्यक्तिको हकमा १५ वर्ष हुनुपर्ने र करार अवधिभित्र जग्गा धनी र किसानको सहमतिबिना बेचविखन गर्न नपाउने व्यवस्था गर्ने वातावरण तयार गर्न किसानहरुको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया