दिल्लीमा हिंसा : ७ जनाकाे ज्यान गयाे, अमित शाहले बैठक बाेलाए

 फागुन १३, २०७६ मंगलबार १२:१७:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको राजधानी दिल्लीमा नागरिकता विधेयकको विरोध र समर्थन गरिरहेका समूहबीच हिंसा हुँदा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ ।

दुई समूहबीचकाे झडपमा अन्य ३५ जना घाइते भएका छन् । मङ्गलबार बिहान उपचार गराइरहेका तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि एक जना प्रहरी र तीन जना सर्वसाधरणको ज्यान गएकाे थियाे । 

झडपले हिंसाको रुप लिएपछि दिल्ली मेट्रोले सुरक्षाको कारण देखाउँदै जाफराबाद, मौजपुर, बाबरपुर, गोकुलपुरी, जोहरी एन्कलेव र शिव विहारको स्टेशन बन्द गरेको छ । झडपले हिंसाको रुप लिएपछि केन्द्रीय गृह मन्त्री अमित शाहले उपराज्यपाल अनिल बैजल, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित बैठक बोलाएका छन् ।  

यसैबीच अमेरिका र भारतबीच मङ्गलबार विभिन्न विषयमा सम्झौता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई दिने भ्रमणका क्रममा भारत पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न विषयमा सम्झौता हुने टाइम्स अफ इण्डियाले जनाएको छ ।

तर के विषयमा सम्झौता हुने भन्ने बारेमा खुलाइएको छैन । दुई नेताबीच अहिले हैदराबादमा छलफल भइरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया