सङ्खुवासभा : किमाथाङ्का गाउँमा फेरि हिमपात

 फागुन १३, २०७६ मंगलबार १२:५१:४२ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – चीनको सीमावर्ती किमाथाङ्का गाउँमा फेरि हिमपात भएको छ । साेमबार रातिदेखि फेरि हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएकाे छ ।

सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किलाेमिटर टाढा रहेको किमाथाङ्का गाउँमा गएको मङ्सिर अन्तिम हप्तादेखि हिमपात सुरु भएको थियो । बर्सेनि किमाथाङ्का गाउँ र गाउँमाथिको छेसुम्बा गुम्बालगायतका डाँडामा झण्डै ६ महिनासम्म हिउँ पर्ने गर्छ । 

सङ्खुवासभाकाे धेरै ठाउँमा चिसो कम हुँदै गए पनि किमाथाङ्का नाका र तल गाउँसम्म अझै हिमापात भइरहेकाे सीमा सुरक्षा पोस्ट (बीओपी) काे सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराम राईले बताउनुभयो । उहाँको अनुसार यस क्षेत्रमा पटक–पटक हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ । घरबाट बाहिर निस्कन पनि मुश्किल रहेकाे उहाँले जानकारी दिनुभयाे ।    

केही समयअघि मात्रै सङ्खुवासभाको किमाथाङ्का नाकामा सीमा सुरक्षा पोस्ट स्थापना गरिएको हो । इन्स्पेक्टर राईको कमाण्डमा २६ जनाको सशस्त्र टाेली राखिएको छ ।   

चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका कोरोना भाइरसको कारण चीन सरकारले पूर्णरुपमा बन्द गरेको छ । नाका बन्दका कारण आवातजावात ठप्प छ ।

सङ्खुवासभाको दक्षिणी भेगमा टुटेदेउराली, गुफापोखरी, चौकी, मङ्गलबारे लगायतका टीमएमजे क्षेत्रमा भारी हिमपातका कारण जनजीवन प्रभावित भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया