दुहवी–कटहरी सबस्टेशन सञ्चालनमा, गुणस्तरीय विद्युत् आपूर्ति हुने

 फागुन १३, २०७६ मंगलबार १३:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – निर्माण सम्पन्न भएर पनि लामो समयसम्म सञ्चालन हुन नसकेकाे दुहवी–कटहरी सबस्टेशन सञ्चालनमा आएको छ । लामो समयसम्म विवादमा पिल्सिएकाे दुहवी–कटहरी ३३ केभी प्रसारण लाइनले सबैको अथक प्रयासबाट यो लाइनले समाधान पाएको छ ।

विद्युतकाे भोल्टेज स्तर सुधार एवं मागअनुसारको विद्युत् वितरण गर्नको लागि नेपाल बिद्युत् प्राधिकरणले एसियाली विकास बैंककाे सहयोगमा देशैभरि विभिन्न प्रकारका सबस्टेशन निर्माण र लाइन निर्माण भइरहेकाे छ ।

यसै सन्सर्भमा मोरङ जिल्लाको कटहरीमा निर्माण गरिएको सबस्टेशन तयार भए पनि विभिन्न कारणले सञ्चालन हुन सकेको थिएन । याे लाइन सञ्चालन गर्ने प्रमुख स्रोत भनेको दुहवी १३२ केभी ग्रिड सबस्टेशनबाट कटहरीसम्म ३३ केभी लाइन पुर्‍याउनु थियो । याे लाइन निर्माणको क्रममा मोरङको ग्राम थान गिदनियाका बासिन्दाले विवाद निम्तयाउँदा काम रोकिएको थियो ।

मोरङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद अमनलाल मोदी, प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितकाे टाेलीले विभिन्न चरणमा छलफल गरेकाे थियाे । स्थानीय बासिन्दाको मागअनुसार प्राविधिक कारणले उपयुक्त ठाउँमा ३३ केभी लाइनलाई भूमिगत गरेर लाइन निर्माण कर्यलाई पूर्णता दिएकाे हाे ।

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत रहेको सबस्टेशन र लाइन निर्माणको कार्य भारतीय निर्माण कम्पनी ए टु जेड इन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कम्पनी जय दुर्गे इन्जिनियरिङ्ग र त्रिपुरेश्वर कण्डक्टर कम्पनीले पूरा गरेको हो ।

दुहवी ग्रिड सबस्टेशनदेखि कटहरीसम्म १७ दशमलव २ किलाेमिटर ओभरहेड लाइन र ५ दशमलव ५  किलाेमिटर ३३ केभी भूमिगत लाइन निर्माण गरी जम्मा २२ दशमलव ७ किलाेमिटर लाइन नो लोडमा सञ्चालन गरिएको नेपाली निर्माण व्यवसायी जय दुर्गे इन्जिनियरिङ्ग र त्रिपुरेश्वर कण्डक्टर कम्पनीका निर्देशक सागर लुईँटेलले बताउनुभयाे । उहाँका अनुसार अब कटहरी सबस्टेशन सञ्चालनमा आएपछि यस क्षेत्रको भोल्टेजको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ ।

याे काममा पहिलेदेखि नै खटिनुभएका वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना विराटनगर डिभिजन प्रमुख शैलेश सापकोटाका अनुसार दुहवी ग्रिड सबस्टेशनबाट कटहरी सबस्टेशन हातासम्म ३३ केभी प्रसारण लाइनकाे परीक्षण प्रसारण सफल भएको छ । उहाँले भन्नुभयाे, 'हामीले नो लोडमा सबस्टेशन सञ्चालन गरेका छौँ । समग्र मोरङ जिल्लाबासीको लागि यो खुशीको कुरा हो ।'

अब कटहरी सबस्टेशन पूर्णरुपमा सञ्चालन गरी त्यहाँबाट ११ केभी फिडर वितरण गर्न विराटनगर वितरण केन्द्रसँग समन्वय गरी फिडरको वितरण प्रणाली सञ्चालनको कार्य द्रूत गतिमा अघि बढाउने कार्यमा अहोरात्र खटिने उहाँले बताउनुभयाे । यसबाट समग्र घरायसी, औद्योगिक, व्यापारिक लगायत सबै क्षेत्रले स्तरीय विद्युत् सेवाको उपभोग गर्न पाउनेछन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया