दिल्लीकाे हिंसामा ज्यान गुमाउनेकाे सङ्ख्या २० पुग्याे

 फागुन १४, २०७६ बुधबार ११:५७:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – उत्तर–पूर्वी दिल्लीमा हिंसाका कारण ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ । 

हिंसामा अन्य एक सय ८९ जना घाइते भएका छन् । अस्पतालमा पुगेका घाइतेहरुमध्ये केहीको टाउकोमा चोट लागेको छ भने केहीलाई गोली लागेको छ । काेही भने भाग्ने क्रममा लडेर घाइते भएका छन् ।  

गुरु तेज बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमले हिंसाका कारण अहिलेसम्म २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । 

गएको तीन दिनदेखि दिल्लीको उत्तर–पूर्वी इलाकामा हिंसा चलिरहँदा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोवालले हिंसाग्रस्त इलाकाको निरीक्षण गरेका छन् । साथै उनले स्थानीय समुदायका नेताहरुसँग भेट गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अजित डोवालले आफ्नो निरीक्षणको जानकारी प्रधानमन्त्री नरेन्द्र मोदी र क्याबिनेटलाई दिनेछन् । 

एएनआईका अनुसार एनएसएले भनेको छ, ‘राष्ट्रिय राजधानीमा कानुनविरुद्ध खेलवाड सहन गरिने छैन । स्थितिलाई नियन्त्रणमा लिन पर्याप्त सङ्ख्यामा सुरक्षाबल तैनाथ गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि भनिएको छ ।’
 
भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । मङ्गलबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतीय गृहमन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिएका छन् 
यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताउनुभएको छ । 

नागरिकता कानुनलाई लिएर प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएका छन् । 

नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यस अघि पनि प्रदर्शन भएका थिए । तर गएको आइतबारदेखि भने प्रदर्शनले हिंसाको रुप लिएको हो ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया