काेराेना भाइरस ५० देशमा फैलियाे, कुनै पनि देश ढुक्क भएर बस्न नहुने डब्ल्यूएचओकाे भनाइ

 फागुन १६, २०७६ शुक्रबार ८:५६:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ । यस्तै ७९ हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ ।

कोरोना भाइरस फैलिएपछि जापान र इराकले सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन् । साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।

यस्तै अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।

यसैबीच उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो सङ्क्रमित भेटिएको छ । नाइजेरियामा कोरोना सङ्क्रमित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेका बेला चीनबाहिर सङ्क्रमण बढ्नु चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनकाे भनाइ छ ।

इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले भाइरस अझ खतरनाक भएको देखाएको उनले बताए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया