मलाई विश्वास छ, प्रधानमन्त्रीले सचिवालय बैठककाे निर्णय मान्नुहुन्छ : प्रचण्ड

 फागुन १६, २०७६ शुक्रबार १४:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा भएको निर्णयको प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

शुक्रबार चितवन पुग्नुभएका प्रचण्डले दुई जना अक्ष्यक्ष र सचिवालय बैठकले सर्वसम्मत गरेकाे निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुवैको अध्यक्षतामा बसेको सचिवालयले सर्वसम्मत गरेको निर्णय प्रधानमन्त्रीले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना गर्न पनि सक्दिन, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । मैले यति बुझेको हो । मान्नु भएन भनेपछि के हुन्छ भन्नेतर्फ अहिले म जान चाहन्न । एक/दुई दिनमा तपाईँहरुले थाहा पाइहाल्नु हुन्छ ।’

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भए पनि तत्काल संविधान संशोधनको प्रक्रया अगाडि नबढ्ने दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन आफ्नो प्रक्रियामा हुँदै जाने कुरा हो । उहाँ (गौतम) राष्ट्रिय सभामा अहिले नै जाने भनेर निर्णय गरिएको हो ।’

सचिवालय बैठकमा सदस्य थप्ने विषयमा कुनै निर्णय नभएको र अहिले त्यो सम्भव नरहेको अध्यक्ष दाहालकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया