राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीकाे होइन : राजन भट्टराई

 फागुन १६, २०७६ शुक्रबार १७:३७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो । 

सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन । मनोनयनको विषय राष्ट्रपतिको विषय हो । पार्टीले निर्णय गरेर यो गर भन्ने होइन् । पार्टीले दिएकाे सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण तरिकाले हिसाबले निष्कर्ष निकाल्नुहुन्छ ।’

भट्टराईले गौतमको विषय व्यवस्थापन हुन नसक्ने विषय नभएकाले उपयुक्त हिसाबले व्यवस्थापन हुने बताउनुभयो । नतिजा के हुन्छ भन्ने कुरा १, २ दिनभित्र टुंगो लाग्ने भएकाले अहिले बोल्न हतारो हुने उहाँले बताउनुभयो ।

एमसीसीको विषयमा प्रधानमन्त्रीले संसदबाट नै पारित हुन्छ भनिसकेकाले पारित हुने उहाँले बताउनुभयो । राष्ट्रहीत विपरीतका कुराहरु छन् भने पारित गर्न नहुने उल्लेख गर्दै उहाँले मुलुकको सार्वभौमिकता विपरित, सैन्य र राजनीतिक गठबन्धन लगायतका पक्षमा दायाँबायाँ हुने छुट वर्तमान सरकारलाई नभएको उहाँले बताउनुभयो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका बाँस्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारबाही हुने उहाँले बताउनुभयो । तर छानबिन पूरा नहुँदै अपराधी जस्तो व्यवहार गर्नु उपयुक्त नहुने भट्टराईले बताउनुभयो ।  

भारतसँग सीमा समस्या समाधानका लागि छिट्टै वार्ता हुने पनि भट्टराईले बताउनुभयो । विदेशसचिव स्तरको वार्ताका लागि नेपालले पठाएको पत्रको जवाफ भारतले दिए पनि मिति भने तय नभएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया