उपत्यकाका पोखरी र ढुङ्गेधाराको ‘ब्युटिफिकेशन’ गरिने

 फागुन १६, २०७६ शुक्रबार १९:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - खानेपानी तथा सरसफाइमन्त्री विना मगरले काठमाण्डौ उपत्यकाभरीका पोखरी र ढुङ्गेधाराको संरक्षण गरी ‘ब्युटिफिकेशन’ गरिने बताउनुभएको छ ।शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताउनु भएको हो ।

महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुङ्गेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडि बढ्ने बताउनुभयो ।

उपत्यकाका १० वटा नगरपालिकाभित्र रहेका ५ सय ७३ ढुङ्गेधारा र २ सय ३३ पोखरीहरुको नक्शाङ्कनको काम सकिएको छ । ५ सय ७३ ढुङ्गेधारामध्ये ४७९ स्थलगत रुपमा भेटिएका छन् भने ९४ वटा हराएका छन् ।

त्यसैगरी २ सय ३३ पोखरीमध्ये १९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन् । आर्थिक वर्षको सुरुबाट नै प्रत्येक नगरपालिकामा विषय विज्ञसहितको टोली बनाएर ढुङ्गेधारा तथा पोखरीहरुको नेवारी नाम, अहिलेको अवस्था, पानीको गुणस्तरको अवस्था अद्यावधिक गर्ने काम पनि सकिएको छ । 

महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका ढुङ्गेधारा तथा पोखरीहरुको पूनर्निमाण र संरक्षणको विस्तृत खाका तयार गरी २ वर्षभित्र पूननिर्माण सम्पन्न गर्ने र बाँकी नगरपालिकाहरुमा समेत क्रमैसँग काम अगाडि बढाउने सम्झौतापत्रमा उल्लेख छ । 

काठमाण्डौ उपत्यका खानेपानी लिमीटेड र नगरपालिकाबीचको सहकार्यमा गुरुयोजनाअनुसार काम सम्पन्न गर्दै जाने लक्ष्य लिइएको छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी, मध्यपुर ठिमी नगरपालिका र खानेपानी लिमीटेडको समन्वयमा कार्य सञ्चालन गर्न खानेपानीमन्त्री मगरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया