सन्दीप लामिछानेकाे टी-२० क्रिकेटमा १०० विकेट पूरा !

 फागुन १७, २०७६ शनिबार १३:११:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् ।

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भइरहेकाे मलेसियाविरुद्ध टस हारेर बलिङकाे निम्ताे पाएकाे नेपालका तर्फबाट सन्दीप लामिछानेले पहिलो विकेट लिँदै व्यक्तिगत १०० विकेट पुर्‍याएका हुन् । 

पहिलो विकेटको रुपमा आईपीएलमा पार्थिव पटेललाई आउट गर्दै विकेटको सुरुआत गरेका सन्दीपले १०० औँ सिकारको रुपमा मलेसियाका विरेन्दरसिंहलाई आउट गरे ।

पछिल्लो टी-२० को रुपमा सन्दीपले बिग ब्यास लिगमा १५ विकेट लिएका थिए । काठमाण्डौमै भएको नेपाल ओमान र अमेरिकाबीचको एक दिवसीय सिरिजका लागि विगा ब्यास लिग बीचमै छाडेर आएका सन्दीपले त्यतिबेला १०० विकेट पूरा गर्न १ विकेट बाँकी राखेका थिए ।

सन्दीपले साढे १ वर्षको अवधिमा यो कोषेढुंगा पार गर्न सफल भएका हुन् । नेपाली क्रिकेटरमा सर्वाधिक विकेट लिने खेलाडीको रुपमा पनि सन्दीप लामिछानेले आफूलाई स्थापित गरेका छन् । 

सन २००० को अगष्ट २ तारिखमा स्याङ्जाको आरुचौर तालपोखरीमा जन्मिएका सन्दीपले सानै उमेरमा ठूलो उपलब्धि हासिल गरेका हुन् । उनले सन् २०१६ को नामिबियाविरुद्धको खेलबाट लिस्ट ए क्रिकेटको सुरुआत गरेका थिए ।

त्यसअघि यू-१९ को नेपाली टिममा छनोट भएका थिए । २०१६ मा उनको स्पिन बलिङ देखेर अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले सिड्नीमा रहेकाे क्लबमा खेल्नका लागि बोलाएका थिए । 

बुवा चन्द्रनारायण लामिछाने भारतको रेल्वेमा जागिर भएकै कारण सानैमा सन्दीप पनि पढाइका लागि उतै गएका थिए । उनी कक्षा चारमा अध्ययन गर्दादेखि क्रिकेट खेलसँग परिचित भएको बताइन्छ । 

२०१६ मा यू-१९ विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेपछि सोही वर्षको अप्रिलमा नामिबियासँगको आईसीसी विश्व क्रिकेट लिग म्याचमा सिनियर टिमबाट डेब्यु गर्न पाएका थिए । त्यसयता उनी नेपाली टिमका नियमित सदस्य पनि हुन् ।

राष्ट्रिय टिमबाट डेब्यु गरेपछि सन्दीप हङकङको घरेलु टी २० प्रतियोगिता हङकङ टी २० ब्लीटज खेल्न बोलाइएको थियो । त्यहाँ नै उनले अस्ट्रेलियन टिमका पूर्व कप्तान माइकल कर्लाकसँग भेट भयो र उनको क्रिकेट करियरको टर्निङ प्वाइन्ट पनि त्यही थियो ।

सन्दीप २०१८ को आईपीएलमा  छनोट भए । तत्कालीन दिल्ली डेयर डेभिल्स ९दिल्ली क्यापिटल्स० ले उनलाई सिजनको २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

आईपीएलबाटै सन्दीपको टी -० यात्रा शुरु भएको हो । एशोसिएट राष्ट्रबाट आईपीएल खेल्नु आफैँमा ठूलो उपलब्धि हासिल गरेका सन्दीपले पहिलो सिजनमा दिल्लीलाई प्रदर्शनबाट निराश बनाएनन् । उनले तीन खेलमा मात्रै मौका पाउँदा ५ विकेट लिँदै चर्चाको शिखरमा रहे । 

सन्दीपले २०१८ को मे १२ तारिखमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यु गरेका थिए । उक्त खेलमा ४ ओभर बलिङ गर्दै २५ रन खर्चिएर पहिलो विकेट लिए । उनले आरसीबीका पार्थिब पटेलको विकेट लिएका थिए । जुन सन्दीपको पहिलो ऐतिहासिक टी २० विकेट पनि हो ।

दोस्रो खेलमा चेन्नई सुपरकिंग्सविरुद्ध सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । यो खेलमा सन्दीपले सुरेश रैनालाई आउट गरेका थिए ।
मुम्बई इण्डियन्सविरुद्ध उनले ३ विकेट लिँदै सनसनी मच्चाए । आफ्नो स्पेलमा ३६ रन खर्चिएर सन्दीपले सूर्यकुमार यादव, कायरन पोलार्ड, क्रुनाल पाण्डेको विकेट हात पारेका थिए । 

त्यसपछि सहयोग संकलन गर्ने उद्देश्यले आयोजना भएको विश्व ११ बाट सन्दीप खेल्ने मौका पाए । यसमा उनी विकेटविहीन बनेका थिए ।

त्यसपछि २०१८ को क्यारेबियन प्रिमियर लिगमा उनले सेन्ट किट्स एण्ड नेभिस पेट्रियोट्सबाट खेले । जसमा उनले ५ इनिङमा ७ विकेट हात पारे ।  उनले क्यारेबियन प्रिमियर लिगको आफ्नो पहिलो खेलमा १२ रन खर्चिएर २ विकेट हात पारे । सन्दीपले ग्वेना अमेजन वारियर्स्विरुद्ध विकेट लिँदा चाडविक वाल्टन र जेशन मोहम्मदलाई आउट गरेका थिए ।

दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्स विरुद्ध ३ ओभर बलिङ गर्दै १ विकेट हात पारे । उनले एक ओभर मेडन राख्दै क्रिस लिनको विकेट लिएका थिए । जमैका तल्हावस विरुद्ध सन्दीपको नाममा २ विकेट रह्यो । उनले किनर लेविस र आन्ड्रे मक्कार्थीको विकेट लिएका थिए ।

सेन्ट लुकाविरुद्ध पनि सन्दीपले २ विकेट हात पारे । उनले डेभिड वार्नर र क्वीस अहमदलाई आउट गरेका थिए । 

त्यसपछि उनी अफगानिस्तान प्रिमिनयर लिग खेल्न आएका थिए । अफगानिस्तान प्रिमियर लिगमा १ इनिङमा मात्रै बलिङ गरेका सन्दीपले २ विकेट हात पारे ।  
२०१८–१९ को विग ब्याश लिगमा उले ८ म्याचमा ११ विकेट लिए । सोही वर्ष बंगलादेश प्रिमियर लिग क्रिकेटमा सन्दीपले ६ खेलमा ४ विकेट हात पारेका थिए । पाकिस्तान सुपर लिग क्रिकेटमा उनले ७ खेलमा ११ विकेट लिएका थिए । 

आईपीएलको उनको आफ्नो दोस्रो सिजनमा दिल्लीबाटै खेलेका थिए । र अहिले पनि सोही यात्रालाई निरन्तरता दिँदैछन् । आईपीएलमा दोस्रो सिजमा उनी ६ खेलमा सहभागी भए । जसमा उनले ८ विकेट लिएका थिए । क्यारेबियन प्रिमियर लिगमा पनि सहभागी भएका सन्दीपले ११ विकेट लिए । जारी बिग  ब्याशमा अहिलेसम्म १६ विकेट लिएका सन्दीपले नेपाली राष्ट्रिय टिमले खेलेका टी २० मा २८ विकेट हात पारेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया