मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग

 साउन ९, २०७५ बुधबार १८:५६:१३ | हेमराज शर्मा

दाङ – मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी सुबेरु चौधरीको घर परिवारलाई आर्थिक सहयोग दिइएको छ ।

अस्ट्रेलियामा बस्ने नेपालीहरुको तर्फबाट २३ हजार ३ सय २० रुपैयाँ आर्थिक संकलन भएको हो । काठमाडौंमा बस्ने अजितकुमार भट्टराईको संयोजनमा त्यो रकम संकलन भएको थियो ।

मृतक चौधरीको घरमै मंगलबार एक कार्यक्रमको आयोजना गरेर संकलित भएको रकम चौधरीकी श्रीमती देउमन्ती चौधरीलाई हस्तान्तरण गरिएको हो ।

त्यो क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोखरेल, विभिन्न संचार माध्यमका पत्रकारहरुको रोहबरमा रकम उपलब्ध गराइएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण र घर खर्च चलाउँदा लागेको ऋण तिर्न भनि ज्याला मजदुरी गर्न सुबेरु केही महिना अघि मुस्ताङ्ग पुगेका थिए ।

खाना खाएर कार्य क्षेत्र जाँदै गर्दा टिपर दुर्घटनामा परेर उहाँको ज्यान गएको थियो । घरको मुली मान्छे नै मरेपछि अहिले श्रीमती देउमन्तीलाई दुई छोरी र एक छोरालाई लालन पालन गर्न गाह्रो भएको छ ।

जेठी छोरीले आर्थिक अवस्था कमजोर भएकै कारण कक्षा ९ मा पढ्दा पढ्दै पढाई छोड्नु परेको गुनासो देउमन्तीले गर्नुभएको छ । कान्छी छोरी र छोरालाई जेनतेन गरेर स्कुल पठाउने गरेको देउमन्तीले बताउनुभयो । तर घरमा कमाई गर्ने मान्छे नहुँदा नौ कक्षामा अध्ययनरत छोरा वर्षे बिदाको मौका पारेर बुटवल मजदुरी गर्न गएको आमाले बताउनुभयो । 

विदेशमा बसेका नेपालीहरुबाट संकलन भएको रकम हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष सुबेदीले बीचमै पढ्न छोडेका सुबेरुका छोरा छोरीलाई विद्यालयमा निःशुल्क पढ्नका लागि वातावरण मिलाई दिने बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएको भन्दै राप्ती गाउँपालिकाले १५ हजार रकम सहयोग गरेको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । त्यस्तै मुस्ताङ घटनामा ज्यान गुमाउने मृतकहरुलाई निर्माण व्यवसायीको तर्फबाट प्रति व्यक्ति ५ लाख र राज्यबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया