प्रधानमन्त्री कप महिला भलिबलकाे उपाधि पुलिसलाई

 फागुन २२, २०७६ बिहिबार ७:५७:१८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल पुलिस क्लबले नेपालगञ्जमा बुधबार सम्पन्न प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौँ संस्करणको उपाधि जितेकाे छ ।

नेपालगन्ज रङ्गशालाको कभर्डहलमा बुधबार सम्पन्न पाइलन खेलमा सशस्त्र प्रहरीको एपीएफलाई २५–१६,२५–२७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

बुधबार नै भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले न्यु डायमण्ड क्लबलाई २५–२१,२५–२० र २५–२० को सेटमा पराजित गर्दै तेस्राे भएकाे छ  ।  

उपाधिसँगै पुलिसले दुई लाख रुपैयाँ, उपविजेता एपीएफले एक लाख रुपैयाँ र तृतीय भएकाे नेपाली सेनाले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भइन् । त्यस्तै उत्कृष्ट ब्लकरमा सेनाका सङ्गम महतो, उत्कृष्ट सेटरमा प्रहरीकी कमला पुन, उत्कृष्ट सर्भरमा प्रहरीकै मनिषा चौधरी, उत्कृष्ट लिबरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा प्रहरीका रुपेश विष्ट, र उत्कृष्ट स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना र पुलिस क्लबका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विजयी समूह तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना), नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा लगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान प्रदान गर्नुभयो ।

बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा भएको खेलमा पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी, न्यु डायमण्ड र प्रदेश ५ सहभागी थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया