मास्कमा ब्रह्मलुट : ५० थान बेचेर ८ हजार नाफा !

 फागुन २७, २०७६ मंगलबार २०:४६:१८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ –भारतको जम्मु–कास्मिर घर भएकी एक महिलाले गएको आइतबार छोरालाई मास्क (मुखावरण) किन्न ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालसँगै रहेको गौतम फार्मेसीमा पठाउनुभयो ।

छोराले प्रतिगोटा ३० रुपैयाँका दरले १५ वटा पहेँलो मास्क किनेर लगे । तर आमालाई मास्क निम्न गुणस्तर र महँगो भएको शंका लाग्यो । उहाँ सोमबार गौतम फार्मेसीमा जानुभयो र मास्क फिर्ता गर्न अनुरोध गर्नुभयो । तर फार्मेसीले मास्क फिर्ता गर्न मानेन । त्यसपछि महिलाले बिल दिन आग्रह गर्नुभयो । फार्मेसी सञ्चालकले आनाकानी गरे । लामो विवादपछि पसलेले बिल बनाएर महिलालाई दिए । 

बिल हात पारेपछि महिलाले मास्कमा ठगिएको भन्दै वादविवाद गर्नुभयो । त्यसपछि फार्मेसी सञ्चालकले महिलाको हातबाट बिल खोसेर च्याते । महिलाले तत्कालै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गर्नुभयो । 

विभागको टोली मंगलबार गौतम फार्मेसीमा पुग्यो र खरिद बिल माग्यो । फार्मेसीले २५ रुपैयाँमा मास्क खरिद गरेर ३० रुपैयाँमा बेचेको रहेछ । ‘फार्मेसीले बढी मूल्यमा बिक्री गरेकोभन्दा पनि बिल खोसेर च्यातेको हुनाले बिल बिजक जारी नगरी कारोबार गरेको कसुरमा २ लाख रुपैयाँ जरिबाना गरेका छौँ’, अनुगमनमा खटिएका एक अधिकृतले भने । 

लहरो तान्दा पहरो

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गौतम फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना तिराएपछि प्रति मास्क २५ रुपैयाँको दरले बिक्री गरेको आपूर्तिकर्ताको खोजीमा लाग्यो । गौतम फार्मेसीले अल्का अस्पतालपछाडि रहेको शुभ सर्जिकल सप्लायर्सबाट प्रतिगोटा २५ रुपैयाँमा मास्क खरिद गरेको भेटियो ।

विभागको टोलीले शुभ सर्जिकलमा पनि छापा मार्‍यो । शुभ सर्जिकलले गौतम फार्मेसीलाई भ्याट बिल काटेको देखियो । तर बिल नक्कली थियो । विभागको टोलीले शुभ सर्जिकलले किर्ते भ्याट बिल बनाएर मास्क बेचेको भेट्टिएको अनुगमनमा संलग्न एक अधिकारीले बताए । 

टोलीले शुभ सर्जिकललाई पनि २ लाख रुपैयाँ जरिवाना गरेको छ । गौतम फार्मेसीको अनुगमनकै कारण शुभ सर्जिकलले भ्याट बिल किर्ते गरेको भेटियो ।
‘यो घटनामा लहरो तान्दा पहरो थर्किएको छ । शुभ सर्जिकलले  सामान ल्याउने फर्मले पनि बदमासी गरेको हुन सक्ने अनुमान छ । हामीले त्यो पनि खोज्दैछौँ’, विभागले उज्यालो अनलाइसँग भन्यो । 

विभागको टोलीले अल्का अस्पतालसँगै रहेको विद्या फार्मेसीमा पनि अनुगमन गर्‍यो । त्यहाँ पनि अत्यधिक मूल्यमा मास्क बेचेको पाइयो । फार्मेसीले ८ सय ४० भारतीय रुपैयाँ अर्थात १३ सय ४४  नेपाली रुपैयाँमा ५० थान मास्क खरिद गरेको रहेछ । फार्मेसीले एउटा मास्क २६ रुपैयाँ ८८ पैसामा किनेको थियो । 

अधिकतम २० प्रतिशत नाफा खाएर पनि फार्मेसीले एउटा मास्क ३२ रुपैयाँको हाराहारीमा बेच्नुपथ्र्यो । तर उसले १ सय ९० रुपैयाँमा बेचेको भेटियो । फार्मेसीले २० प्रतिशत नाफा खाएर ५० वटा मास्क अधिकतम १६ सय १२ रुपैयाँमा बेच्नुपर्नेमा नौ हजार ५ सय रुपैयाँमा बचेको पाइएको विभागले जनाएको छ । यसरी हेर्दा ५० वटा मास्क बेच्दा ७ हजार ८ सय रुपैयाँभन्दा बढी नाफा लिएको देखिन्छ ।

तर यसमा पनि बाझिने विषय विभागले भेटाएको छ । विभागले विद्या फार्मेसीसँग खरिद बिल माग्यो । ५० थान मास्कको प्याकेटमा अतिकतम खुद्रा मुल्य ८ सय ४० भारु लेखिएको भएपनि फार्मेसीले एउटै मास्कको १ सय ५५ रुपैयाँमा किनेको पाइयो । सिधा हिसाबले हेर्दा १ सय ५५ रुपैयाँमा किनेर १ सय ९० रुपैयाँमा मास्क बेचेको भेटियो । अर्थात एउटा मास्कमा फार्मेसीले ३५ रुपैयाँ नाफा लिएको भेटियो । 

तर प्याकेटमा एउटा मूल्य र बिलमा अर्कै मूल्य भएकाले विभागको अनुगमन टोलीले विद्या फार्मेसीले खरिद गरेको फर्म पनि अनुगमन गर्ने निधो ग¥यो । तर विद्या फार्मेसीलाई मास्क दिने फर्म काभ्रेको बनेपामा रहेकोले टोली त्यहाँ जान सकेन । काभ्रे जिल्ला प्रशासनलाई पत्र लेखेर उक्त फर्मलाई कारबाहीको सिफारिस गर्ने विभागको तयारी छ । 

विभागले अल्का अस्पतालकै छेउमा रहेको सदिक्षा मेडिकलमा पनि अनुगमन ग¥यो । त्यहाँ कम्प्युटराइज बिल दिने गरिएको तर आन्तरिक राजश्व विभागबाट अनुमति नलिइएको पाइएको छ ।

‘आन्तरिक राजश्व विभागबाट अनुमति नलिई कम्प्युटराइज्ड बिल जारी गर्नु भनेको खाली कागजमा हातले लेखेर बिल दिनु सरह हो । त्यसैले सदिक्षा मेडिकललाई पनि २ लाख रुपैयाँ जरिबाना तिराएका छौँ’, विभागले भन्यो । 

विभागले मंगलबार एकैदिन ४ वटा फार्मेसीमा अनुगमन गरेर ८ लाख रुपैयाँ जरिबाना तिराएको छ । ‘लहरो तान्दा पहरो थर्किने घटना भेटाएका छौँ । हामी अब सूक्ष्म अनुगमनमा जान्छौँ,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया