५ महिनामै बाँडियो २० करोड ५० लाख, कसले कति लिए ?

 साउन १०, २०७५ बिहिबार १८:२:२३ | नवराज फुयाँल
unn.prixa.net

सरकारले फागुनदेखि असारसम्मको ५ महिनाको अवधिमा कार्यकर्ता पोस्न र मन्त्री तथा कर्मचारीको विदेश भ्रमणमा मात्रै करोडौँ रकम खर्च गरेको छ । 

आर्थिक मितव्ययिताको नारा दिँदै फागुन ३ गतेदेखि प्रधानमन्त्रीको कार्यभार सम्हालेका केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न शीर्षकमा आर्थिक सहायता मात्रै झण्डै २० करोड ४९ लाख रुपैयाँ बाँडेको हो । 

यही अवधिमा विदेश भ्रमणमा मात्रै १३ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । 

आर्थिक सहायता पाएका संस्था 

सरकारले कम्युनिस्ट र कांग्रेसका नेताका नाममा स्थापित आधा दर्जन संस्थालाई मात्रै १५ करोड रुपैयाँ बाँडेको छ ।

पुष्पलाल, बीपी कोइराला, मदन भण्डारी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित प्रतिष्ठानलाई साढे २ करोड रुपैयाँका दरले रकम बाँडिएको हो । मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईका नाममा स्थापित प्रतिष्ठानले पनि त्यति नै रकम पाएका छन् ।  

प्रजातान्त्रिक आन्दोलनको दमनमा भूमिका निर्वाह गरेको भनी वामपन्थीले आलोचना गर्ने पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा स्थापित संस्थाले समेत ६० लाख रुपैयाँ अनुदान दिइएको छ । 

यस्तै असार २० गतेको मन्त्रिपरिषद्को बैठकले विश्व प्रजातान्त्रिक युवा संघलाई २५ लाख रुपैयाँ सहायता प्रदान गर्यो ।  

यस्तै सेल्टर आश्रम काठमाडौंलाई २० लाख ५८ हजार रुपैयाँ आर्थिक सहायता वितरण गर्यो भने अखिल नेपाल कवाडी संघले १५ लाख रुपैयाँ हात पारेको छ । 

लोकदोहरी प्रतिष्ठान, संगीत रोयल्टी संकलक समाज, प्रस्तोता समाज, संगीत उत्पादक समाजलगायत संस्थाका नाममा समेत रकम बाँडिएको छ ।

आर्थिक सहायता पाउने व्यक्ति

सरकारले औषधी उपचार तथा अन्य शीर्षक वापत व्यक्तिगत रुपमा पनि सहायता उपलब्ध गराएको छ । 

सरकारले झापा दमकका अमिशा बस्नेतलाई २० लाख, दमककै डा.भम्का राईलाई १० लाख, लक्ष्मीप्रसाद सुहाङलाई ३ लाख वितरण गरेको छ । 

भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललाई १० लाख, झापाका देवीप्रसाद बराललाई ३ लाख, ताप्लेजुङका ताराहाङ लिम्बुबलाई ३ लाख, पूर्वसांसद डिलबहादुर नेपालीलाई ५ लाख, स्व.हरिशरण लामिछानेका हकदारलाई १० लाख, धरानका जुगल सुब्बालाई ५ लाख रुपैयाँ वितरण गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ताप्लेजुङका रबिन सुनुवार र अनुप खिम्दिङलाई जनही ३÷३ लाख रुपैयाँ वितरण गरिएको छ ।

यस्तै सरकारले जेठ २० गते एकै दिन चारजनालाई ४३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्यो । जेठ २० गतेको मन्त्रिपरिषद् बैठकले डा. मिमाङ तेम्वे मालापथलाई १२ लाख, नरेन्द्रराज पोखरेललाई ६ लाख, खगेन्द्र चुडाललाई १५ लाख र श्रीचन्द्र शर्मालाई १० लाख रुपैयाँ औषधी उपचारबापत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्यो ।

यसअघि वैशाख २४ गते चितवन भरतपुर निवासी ध्रुव घिमिरेलाई उपचार खर्चबापत ७ लाख रुपैयाँ गृह मन्त्रालयमार्फत उपलब्ध गराइएको थियो ।

गएको वैशाख ११ गतेको सरकारको निर्णयअनुसार विराटनगरका लव प्रधानलाई १० लाख र विश्वेश्वरा दाहाललाई ७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइयो । 

सरकारले गएको चैत १२ गते एकैदिन चारजनालाई ३५ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्यो । चैत १२ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार लालबहादुर मुखियाले ५ लाख, सरिता राईले १५ लाख, जैविक राईले १० लाख र मञ्जु पन्तले ५ लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गरे ।

सरकारले गत चैत १४ गते पूर्वमन्त्री खुमबहादुर खड्काको उपचारका लागि १५ लाख र पूर्वसांसद जागृतप्रसाद भेटवाललाई १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।

आर्थिक समृद्धिको नारा दिएको सरकारले सालिक र गेट निर्माणजस्ता अनुत्पादक काममा समेत अनुदान बाँडेको छ ।  

सरकारको नेतृत्वमा जुनसुकै दल पुगे पनि आर्थिक सहायताका नाममा ठूलो रकम दलका नेता तथा कार्यकर्तालाई बाँड्ने प्रवृत्ति रोकिएको छैन ।

प्रधानमन्त्रीका रूपमा ओलीको पहिलो कार्यकाल (२०७२ असोज २४ देखि २०७३ साउन १८ सम्म) मा १२ करोड २५ लाख १३ हजार ६ सय ३५ रुपैयाँ आर्थिक सहायताका नाममा वितरण भएको थियो ।

अहिले ५ महिनामा झण्डै २० करोड ४९ लाख रुपैयाँ आर्थिक सहायकताका नाममा विभिन्न शीर्षकमा रकम बाँडिएको छ ।  

            
   
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

3 Comments

  • pun dambar bahadur

    July 27, 2018, 3:42 p.m.

    jun jogi aye pani kanai chiyeko bhaneko yehi ho.afnai karye karta ra asepase lai nai paisa bhadhecha.garib nimukha harulai khoi

  •  0 Reply
  • Bsdi

    July 27, 2018, 9:27 a.m.

    यत्तिधेरै पैसा बाँडेर जनतालाई के ? दुर्गममा टाउको दुख्दा सिटामोल पाउंदैनन , खालि सांसदलाई मात्र /

  •  0 Reply
  • खड्ग बहादुर राई

    July 26, 2018, 6:43 p.m.

    सर्वहरावर्गका उत्थान गरिदिन्छु, सुकुम्बासीहरुलाई लाल पूर्जा वितरण गरिदिन्छु, अन्याय र अत्याचारमा परेकाहरुलाई न्याय दिलाइदिन्छु, बेरोजगारहरुलाई रोजगारी दिलाईदिन्छु, चेलिबेटी तथा महिलाहरुको हक हित सुनिश्चित गरिदिन्छु, शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउँछु, बाल श्रमको अन्त्य गर्छु, प्राकृतिक सम्पदा तथा जलस्रोतको अधिकतम उपयोग गरी देशको अर्थतन्त्र उकास्छु, पर्यटन ब्यवसायको सम्वर्धन गर्छु, स्वास्थ्य क्षेत्रमा सुधार गरी गरिव तथा निमुखा विरामीको उपचार गर्छु, वैदेशिक कुटनिती अब्बल पारेर वैदेशिक अनुदानमा वृद्धि गर्छु, धर्म र संस्कृतीको संरक्षण र संवर्धन गरी सभ्य समाजको विकास गर्छु, वार्षिक प्रति व्यक्ति आय वृद्धी गर्छु, कानुन तथा न्यायपालिकामा संशोधन गरी शुशासन कायम गर्छु, देशमा थुप्रै स्मार्ट सिटिहरु बनाउछु, फ्रि वाईफाई जोन उपलब्ध गराउछु, पानी जहाज ल्याउछु, मेट्रो ट्रेन ल्याउछु, घर घरमा ग्यासको पाइप प¥याउछु, आदि ईत्यादी भनेको यही हो, होइन त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया