काेराेना राेकथामकाे लागि बाँकेमा १ कराेड ६० लाखकाे काेष

 चैत ३, २०७६ सोमबार १८:१:४२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – कोरोना भाइरस (काेभिड–१९) रोकथाम, पूर्वतयारी र उपचारको लागि नेपालगञ्ज उपमहानगरपालिकाले 'टास्कफोर्स' सहित विभिन्न कोष गठन गरेको छ ।

साेमबार बसेको कोरोना समन्वयात्मक बैठकमा भाइरस भित्रिन नदिन सावधानी अपनाउँदै पूर्वतयारीका लागि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र कोष गठन गरेको हो ।

यसैगरी बैठकले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति, प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा व्यवस्थापन समिति र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरेको हो ।

बैठकले कोरोना रोकथामको लागि नेपालगञ्ज उपमहानगरपालिकले ३० लाख, जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाको २० लाख, ६ वटा गाउँपालिकाले १० लाखका दरले ६० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले २० लाख रुपियाँ गरी १ करोड ६० लाख रुपैयाँको कोष बनाउने पनि निर्णय गरेको छ ।

यो रकम पूर्वतयारी र रोकथाममा खर्च हुनेछ । भारतको उत्तरप्रदेश राज्यमा काेराेनाकाे सङ्क्रमण देखिएका कारण नेपालगञ्ज पनि उच्च जोखिममा रहेकोले उच्च सतर्कता अपनाउने पनि बैठकले निर्णय गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया