कोरोना भित्रिन नदिन नेपाल-भारत मैत्री बस सेवा बन्द

 चैत ५, २०७६ बुधबार १८:२२:२७ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - भारतबाट कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्जबाट भारतको नयाँ दिल्लीसम्म सञ्चालन हुँदैआएको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ ।  

बाँकेको स्थानीय प्रशासनले गृह मन्त्रालयको निर्देशनमा नेपालगञ्जबाट नयाँ दिल्लीसम्म सञ्चालन हुने मैत्री बस सेवा बन्द गराएको हो । उत्तर प्रदेश राज्यको राजधानी लखनउमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक भारत नजान पनि सार्वजनिक अपिल जारी गरेको छ।

यस्तै, भारतको उत्तरप्रदेशसँग जोडिएको बाँकेको प्रमुख जमुनाह नाकामा बुधबार बिहानदेखि आवागमनमा कडाइ गरिएको छ । नेपालगञ्जको चौलिक्का चोकदेखि करिब दुई किलोमिटरको दुरीमा रहेको जमुनाह नाकासम्म तीन स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

त्यसैले दैनिक किनमेलका लागि सीमापारि रुपैडिया जानेहरुको सङ्ख्या न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् भने आमनागरिकलाई पैदल मात्रै यात्रा गर्न दिइएको छ । 

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मुख्य नाकाबाहेकका सम्पूर्ण नाकामा आवमगन बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।

भारतको सीमा सुरक्षा बल एसएसबीका प्रहरी निरीक्षक धर्मेन्द्र सिंहले भने भारतीय सरकारको तर्फबाट सीमामा आवागमनका लागि नेपालीहरुका लागि कुनै अवरोध नभएको जानकारी दिनुभयो । 

सीमानाकाको दुवैतर्फ राखिएको हेल्थडेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्रै यात्रीलाई नेपाल गर्न प्रवेश दिइएको छ ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया