काेराेना सतर्कता : विपद् व्यवस्थापन समिति पाल्पाको १७ निर्णय, अटेर गरे कारबाही

 चैत ८, २०७६ शनिबार ११:७:२२ | देव पचभैया
unn.prixa.net

पाल्पा- कोरोना भाइरसबाट जोगिन विपद् व्यवस्थापन समिति पाल्पाको बैठकले विभिन्न १७ निर्णय गरेको छ ।  

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीकोे अध्यक्षतामा बसेको सर्वदलीय र सर्वपक्षीय  बैठकले गरेका निर्णय अटेर गरे कारबाहीको समेत चेतावनी दिएको छ । जिल्लामा रहेका सिनेमा हल,खेल मैदान, जिम, हेल्थ क्लब, कोचिङ सेन्टर, डान्स सिकाई सेन्टरहरु चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको बैठकले स्थानीय सरकारलाई सचेत रहन आग्रह गरेको छ । 

बैठकले तानसेन  नगरपालिका र लुम्बिनी मेडिकल कलेजको समन्वयमा प्रभासमा हेल्प डेस्क सुरु गर्ने र जिल्ला अस्पताल, मिशन अस्पताल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालमा विशेष कक्ष ( आइसोलेशन बेड ) तयार गर्ने निर्णय भएको छ ।

यस्तै यातायातका साधनमा सिट क्षमता भन्दा धेरै यात्रु नराख्ने, अत्यावश्यक काम बाहेक  हिँडडुल नगर्न, सांस्कृतिक सामाजिक कार्यहरुमा सहभागी नहुन,मठमन्दिर,पार्टी प्यालेसजस्ता सार्वजनिक ठाउँहरुमा २५ जनाभन्दा बढी सहभागी नहुने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालोबजारी बढ्ने संकेत देखिएको भन्दै बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ६ सदस्यीय बजार अनुगमन समिति समेत गठन गरेको छ । कोरोना भाइरसबाट बच्न ब्यक्तिगत सचेतना र सावधानी आवश्यक रहेको भन्दै सामुहिक प्रयास गरी प्रकोपबाट जोगिन जिल्लावासीसँग अपिल गरिएको जनाइएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया