अझै नि पञ्चायत ग’को छैन है !

पञ्चायतमै कुटिइन् महिला

 साउन ११, २०७५ शुक्रबार १४:१:४२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – पञ्चायतकै क्रममा धनुषामा एक महिलामाथि निर्घात कुटपीट भएको छ । धनुषाको कमला नगरपालिका ६ सिंगियाही मडान बस्ने प्रमेश्वर मण्डलका श्रीमती ४० वर्षकी मिनादेवी मण्डल पञ्चायतमै निर्घात कुटिएकी हुन् ।

कुटपीटबाट मिनादेवीको तिघ्रा, पाखुरा, हात र शरीरको विभिन्न भागमा गहिरो चोटको डाम देखिएको छ । उनको उपचार जनकपुर अञ्चलमा भइरहेको प्रहरीले जनाएको छ ।

घटना बुधबार दिँसोको हो । स्थानीय ललित मण्डलका अनुसार अनुसार गत मंगलबार मिनादेवीकी छोरी १४ वर्षकी प्रियंका मण्डल खेतबाट घाँस काटेर आउँदै गरेको बला स्थानीय जुक्ति मण्डलका १५ वर्षका छोरा डोमा मण्डल जिस्काएर दूर्व्यवहार गरेका थिए । दूव्र्यवहार पश्चात मिनादेवी छोरी जिस्काउने युवक डोमा मण्डललाई दण्डसजाय हुनु पर्ने भन्दै पञ्चायत बसाउन गाउँलेलाई गुहार गर्नुभएको थियो ।

स्थानीय नेपाली काँग्रेसका वडासभापत्ति एवं शिक्षक उमेश मण्डलले बुधबार दिँउसो आफ्नै दरबाजामा पञ्चायतको समय तोक्नुभयो । बुधबार दिँउसो पञ्चायत बसेपछि पीडित पक्षको पञ्चहरु जान बाँकी नै थियो । तर पनि त्यहाँ उपस्थित पञ्चहरुले दुवै पक्षलाइ आयिन्दा विवाद गरेको ५०–५० हजार जरिवाना गर्ने भनेर पञ्चहरुले निष्कर्ष निकालेका थिए । त्यसै क्रममा मिनादेवीले अस्वीकार गरेपछि पञ्चायतमै स्थानीय ४२ वर्षका श्याम मण्डल, गंगा मण्डल, कामेश्व मण्डल र उमेश मण्डल सहितले लाठी हात र मुक्काले कुटपीट गर्न थालेको पीडित मिनादेवीको भनाइ छ ।

पीडित मिनादेवीले दुखेसो पोख्दै भन्नुभयो ‘मेरो पक्षको पञ्चहरु आउन बाँकी नै थियो । त्यहाँ एकपक्षीय निर्णय गर्यो । मैले अस्वीकार गरेपछि एकाएक सबै लठ्ठी, थप्पर, लातले हिर्काउन थाले ।’ उहाँले त्यस पञ्चायतको मुख्य योजनाकार उमेश मण्डल रहेको र आफू बाँच्न उनको शरणमा जाँदा उल्टै हिर्काएको आरोप लगाउनुभयो ।

घटना पश्चात पीडित पक्षले स्थानीय सखुवा प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरीले पीडित र कुटपीट गर्ने पक्षका ४–५ जनालाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय खजुरी लगेको थियो । पक्राउ पश्चात माहोल तातिएपछि छलफलका लागि सखुवा प्रहरी चौकीमै पठाइएको थियो । सखुवा प्रहरी चोकीमा पनि छलफल हुन सकेन । 

त्यहाँबाट मिनादेवी मण्डललाई उपचारको लागि पठाइएको र उपचार पश्चात घटनाको छिनोफानो हुने ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक केशवराज थानदारले बताउनुभयो । घटनामा पीडित पक्षले केटालाई कुटपीट गरेपछि पञ्चायतकै क्रममा ती महिलामाथि कुटपीट भएको प्रहरी निरीक्षक थानदारको भनाई छ ।

यता आरोपित स्थानीयबासिन्दा एवं शिक्षक उमेश मण्डलले आफूले कुटपीट नगरेको दावी गर्नुभयो । उहाँले पञ्चायतको क्रममा मिनादेवीक देवर पर्ने श्याम मण्डलले लठ्ठीले हिर्काएको र गंगा मण्डलले मिनादेवीको छोरालाई कुटेको स्वीकार गर्नुभयो । घटना पश्चात सखुवा प्रहरीचौकीमा छलफलसमेत भएको उहाँले बताउनुभयो ।

कुटिएकी महिला मिनादेवीकी पति प्रमेश्वर मण्डल वैदेशिक रोजगारीमा बाहिर हुनुहुन्छ । पीडित मिना मण्डलले आफूमाथि कुटपीट गर्नेहरुलाई कारवाहीका लागि पहल गरिदिन सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया