सेल्फ क्वारेण्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुराहरु

 चैत १२, २०७६ बुधबार १७:१४:१ | लक्ष्मण कार्की
unn.prixa.net

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै नेपालमा चैत ११ गतेदेखि लकडाउन अर्थात घर बाहिर निस्कन नपाइने नियम लागू भएको छ ।

लकडाउनका बेला धैर्य गर्न, आतंकित नबन्न, सुरक्षित हुन तथा आफु र आफ्नो परिवारको स्वास्थ्यका लागि लकडाउनको पालना गर्न अनुरोध गरेको छ । सरकारले विदेशबाट आएका नागरिकलाई १४ दिनसम्म घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

सामान्यतया कोरोना भाइरसको सङ्क्रमण १४ दिनसम्ममा देखिन सक्ने भएकाले शंकास्पद व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भनिएको हो । 
यस्तो अवस्था अरुको सम्पर्कमा नआउने, भिडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन  हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ । 

सेल्फ क्वारेण्टाइनमा बस्दा अपनाउनुपर्ने १५ वटा नियम पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पर्याप्त भेन्टिलेसन वा झ्याल भएको कोठामा एक्लै बस्नुपर्ने । यो सम्भव नभए छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटर दूरीमा टाढै रहनुपर्ने । 

छट्टै बाथरूम र शौचालयको प्रयोग गर्नुपर्ने । यसो गर्न सम्भव नभए शौचालय र बाथरुम प्रयोग गरिसकेपछि आफैं सफा गर्नुपर्ने । 
आफू बस्ने कोठा आफैं सफा गर्नुपर्ने । 

घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आफ्नो आवातजावतलाई सीमित गर्नुपर्ने । यी साझा ठाउँमा पर्याप्त भेन्टिलेसन वा झ्याल खुला राख्नुपर्ने । 

स्वास्थ्य संस्था जान बाहेक अरु कामका लागि घर बाहिर जानु नहुने । अरु काममा, विद्यालयमा वा यस्तै अरु सार्वजनिक क्षेत्रहरूमा जान नहुने र सार्वजनिक यातायातको प्रयोग गर्न नहुने ।

नियमित रूपमा आफ्नो हात साबुन र पानीले २० सेकेन्डसम्म मिची मिची धुनुपर्ने । हात सफा राख्न अल्कोहलयुक्त सेनिटाइजर प्रयोग गर्नुपर्ने । हात नधोइ आफ्ना आँखा, नाक र मुख छुन नहुने । 

आफुले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाडा, तौलीया र रुमाल, ओछयान वा अन्य सामान घरका अन्य व्यक्तिहरूसंग साझा प्रयोग गर्न नुहने । यस्ता सामानहरू प्रयोग गरिसकेपछि साबुन र पानीले सफासँग धुनुपर्ने ।

अन्य व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क नगर्ने । 

अन्य व्यक्तिहरूसँग सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटर ३ फिटको दूरी राख्नुपर्ने । अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनुपर्ने ।  

खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने।

आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नुपर्ने र फालेपछि तुरून्तै कम्तीमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुनुपर्ने । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुनपानीले सफासँग धुनुपर्ने । र  घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नुृपर्ने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्नुपर्ने र आवश्यक सहयोगको लागि सधैं तयार रहने । 

क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नुपर्ने । र दिइएको फाराममा रेकर्ड राख्नुपर्ने । १४ दिनसम्म आफ्नो दैनिक स्वास्थ्य स्थिति तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनुपर्ने । 

कुनैपनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नुपर्ने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना स्वारेन्टाइन रहेको ठाउँभन्दा बाहिर यात्रा गर्न नपाइने । 

अन्तिम अपडेट: चैत १५, २०८०

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया