भारतबाट आएका २१ मध्ये २० जना क्वरेण्टीनमा १ जना अस्पताल भर्ना

 चैत १३, २०७६ बिहिबार १३:१४:२२ | सुमित्रा कोइराला
unn.prixa.net

सुमित्रा कोइराला उदयपुर - लकडाउनको दोस्रो दिन बुधबार भारतको सिलिगुडीबाट नेपाल फर्किएका उदयपुरका एक्काइसमध्ये बीस जनालाई क्वरेण्टीनमा राखिएको र एक जनालाई अस्पताल भर्ना गरिएको छ ।

झापा प्रहरीको प्रत्यक्ष निगरानीमा उदयपुरको कटारीसम्म ल्याइएका उनीहरुलाई कारोना भाइरस संक्रमणको आशंकामा कटारी नगरपालिकाको त्रिवेणी बेलसोतामा रहेको नेपाली सेनाले निर्माण गरेको क्वरेण्टीनमा राखिएको हो । उनीहरुमध्ये एकजनामा ज्वरो देखिएकाले उनको भने कटारी अस्पतालमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु धेरैजसो ताप्ली गाउँपालिकाका रहेका छन् भने उदयपुरगढीका ३ जना र रौतामाई गाउँपालिकाका १ जना रहेका छन् । ती सबैजसो भारतको सिलगुडीमा मजदुरी गर्न गएका र एकजना नक्सालगढीमा मजदुरी गर्न गएको बुझिएको छ ।

उनीहरुलाई १४ दिनसम्म क्वरेण्टीनमा राखेर स्वास्थ्य परीक्षण पछि मात्र घर पठाइनेछ । एकचरण सबैको स्वास्थ्य परिक्षण कटारी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । हाललाई एकजनालाई ज्वरो आएको बाहेक सबैको स्वस्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया