मजदुर वर्गका लागि आर्थिक प्याकेज ल्याउन कांग्रेसको आग्रह

 चैत १४, २०७६ शुक्रबार १८:१८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गका लागि आर्थिक प्याकेजको घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

 कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर ‘लकडाउन’मा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्ग सबैभन्दा बढी प्रभावित हुने भन्दै उनीहरुका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गर्नुभएको हो । 

त्यस्तै कम आय भएका कर्मचारी, श्रमिक तथा वेरोजगार युवा, तथा डेरा गरी बस्ने विद्यार्थीलाई राहत हुनेगरी योजना र कार्यक्रम तय गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ । 

‘लकडाउन’ले खुद्रादेखि ठूला व्यापारी सबैलाई असर गर्ने भएकाले २० लाख रुपैयाँसम्म ऋण लिएका व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज मिनाहा गर्न आग्रह गर्नुभयो छ । 

त्यसपछि निश्चित अवधिका लागि ब्याजदर घटाउन तथा ठूला व्यवसायीको पनि किस्ता बुझाउने अवधि तीन महिना सार्न र ब्याजदर घटाउन आग्रह गर्नु भएको छ  । देउवाले पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको भन्दै सञ्चारमाध्यम र पत्रकारका लागि राहतको योजना बनाउन पनि आग्रह गर्नुभयो। 

उहाँले कोरानाको संक्रमणको जाँच तथा उपचारका लागि स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई, परीक्षण किट तथा उपचारका लागि आइसोलेसन शैय्या, भेण्टीलेटर लगायतको पर्याप्त व्यवस्था गर्न माग गर्नुभयो।

कोरोनाको जोखिम कम गर्न सरकारले गरेको 'लकडाउन' पूर्ण रुपमा पालना गर्न पनि कांग्रेस सभापति देउवाको आग्रह छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया