कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै छ : स्वास्थ्य मन्त्रालय

 चैत १४, २०७६ शुक्रबार १८:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पूर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो । मन्त्रालयले हालसम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको, एकजनाको उपचार भएर घर फर्किसकेको र बाँकी २ जना बिरामी टेकु अस्पतालमा आइसोलेशमा रहेको जानकारी गराएको छ ।

संक्रमित २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले  टेकुमा ४ जना, पाटन अस्पतालमा  ६ जना र कान्ति बाल अस्पतालमा ३ जनालाई आइसोलेशनमा राखिएको जानकारी दिनुभयो ।

काठमाण्डौ बाहिर आइसोलेशनमा रहेका बिरामीको तथ्यांक संकलन गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयको कल सेन्टरमा हालसम्म ६ हजार २ सय बढी कलहरु आएको जानकारी उहाँले दिनुभयो । क्वारेन्टाइनमा बसेकाहरु बाहिर निस्केको गुनासो पनि कल सेन्टरमा आउने गरेको भन्दै उहाँले खोकी ज्वरोलगायत श्वास प्रश्वाससँग जोडिएका समस्याहरुका बारेमा आएका कलहरुमा सर्तकता अपनाउने सम्बन्धमा जानकारीमूलक सू दिने गरिएको बताउनुभयो ।

स्वाब परीक्षणको दर बढाउने सवालमा मन्त्रालयबाट काम भइरहेको तथा धरानमारहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण सुरु गर्ने काम अन्तिम चरणमा पुगेको र पश्चिम तर्फ पनि व्यवस्था गर्नेगरी व्यवस्था मिलाउने सम्बन्धमा काम भइहेको उहाँले बताउनुभयो ।

स्वाब परीक्षणका लागि आवश्यक उपकरणहरु पुग्नेगरी मौजदात रहेको र ३ दिनभित्र पीपीई लगायतका उपकरण आउने भएकाले ती सबै समस्या समाधान हुने दावी उहाँले गर्नुभयो । चिकित्सक स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामग्री विना सङ्क्रमितलाई हेर्नु पर्नेगरी बाध्यात्मक स्थिति श्रृजना नगरिएको दावी पनि उहाँले गर्नुभयो ।  

पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले काठमाण्डौभित्र ६ वटा र बाहिर १९ वटा हब अस्पताल भनेर राखिएको र ती अस्पतालले फिभर क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । काठमाण्डौ भित्र शिक्षण अस्पताल महाराजगञ्ज ,भक्तपुर अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको अस्पताल र निजामति कर्मचारी अस्पतालमा सम्पर्क व्यक्ति तोकेर काम भइहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

काठमाण्डौ बाहिरका हब हस्पिटलहरुसँग पनि समन्वय गरि काम भईरहेको र सङ्क्रमण फैलिएको अवस्थामा लिनुपर्ने सर्तकताका बारेमा स्वास्थ्यकर्मीदेखि एम्बुलेन्स चालकसम्मको सुरक्षाका लागि आवश्यक व्यवस्थापन गर्ने गरि मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया