अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर

 चैत १५, २०७६ शनिबार ६:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गर्नुभएको छ ।

कोरोना भाइरसले थलिएको अर्थतन्त्र सुधारका लागि ट्रम्पले १ दशमलव ७ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वका २ सय २ देशमा ५ लाख १२ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने झण्डै साढे २३ हजार ४ सय ९५ जनाको ज्यान गएको छ । तर वर्ल्डओमिटरका अनुसार १ सय ९९ देश र जापानको योकोहामामा पुगेको अन्तर्राष्ट्रिय पानीजहाजमा गरि ५ लाख ९४ हजार १ सय ५५ जना संक्रमित भएका छन् ।

तीमध्ये १ लाख ३२ हजार ५ सय २६ जना उपचारपछि निको भएका छन् भने ४ लाख ३४ हजार ४ सय ७ जनाको उपचार चलिरहेको छ । २७ हजार २ सय २२ जनाको ज्यान गएको छ ।

अमेरिकामा मात्रै एक लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् । गएको २४ घण्टामा झण्डै १७ हजार नयाँ संक्रमित भेटिएपछि अमेरिकामा संक्रमितको संख्या १ लाख २ हजार ३ सय २१ जना पुगेको हो । अमेरिकामा मात्रै १ हजार ५ सय ९१ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको छ । यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री ह्याट ह्यानकक पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

प्रधानमन्त्री जोनसनको कार्यालय डाउनिङ्ग स्ट्रीटका अनुसार जोनसनले आफूलाई कोरोनाभाइरसको लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताउनुभएको छ । त्यस्तै स्वास्थ्य मन्त्री ह्याट ह्यानककलाई पनि सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया