कर्णाली प्रतिष्ठान घटनाको क्षति : ७ लाख ९४ हजार

 साउन ११, २०७५ शुक्रबार १८:३४:३३ | नेत्र शाही

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डा. गोविन्द केसी अनसन बसेर काठमाडौं लैजाने क्रममा भएको घटनाको क्षति सार्वजनिक गरिएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पत्रकार सम्मेलन गरी घटनामा भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा रजिष्ट्रार विश्वराज काफ्लेले दिनुभएको जानकारी अनुसार कुर्ची २३ वटा, आगो निभाउन प्रयोग गरिने मेसिन ९ वटा, अलार्म हुटर ३ वटा, सिसाका झ्याल ७ वटा, ढोका २ वटा लगायतका भौतिक संरचनाहरु क्षति भएको काफ्लेले जानकारी दिनुभयो । क्षतिको विवरण संकलन प्रतिष्ठानको परामर्शदाता बीडीए एमआर बी जेभी काठमाडौंले गरेको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर  शाहीले बताउनुभयो । 

यसैगरी घटनाको छानविनका लागि प्रतिष्ठानले उच्च स्तरीय छानविन समिति गठन गरेको समेत जानकारी गरिएको छ । साउन ८ गते बसेको वैठकमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डा. गीताभक्त जोशीको संयोजकत्वमा ७ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरिएको थियो ।  

पत्रकार सम्मेलनमा उपकुलपति डा. राजेन्द्रराज वाग्लेले विषम परिस्थतिले भएको घटना दुखनीय भएको भन्दै परिस्थितिको आंकलन, विश्लेषण र निर्क्यौलका लागि छानविन समिति गठन गरिएको बताउनुभयो । उपकुलपति वाग्लेले डा. केसीको जुम्ला अनसन स्वाघोषित भएकाले विभिन्न प्रकारका आरोप भ्रम भएको दावी गर्नुभएको थियो । 

यसैगरी केसीको अवस्था गम्भीर हुँदै जादा यहाँका शिक्षक विद्यार्थी र स्वास्थ्यकर्मी सबै तनावमा भएकाले घटनामा कसैको संलग्नता भन्न नसकिने र बाँकी छानविन समितिले नै सत्यतथ्य देखाउने वाग्लेले जानकारी दिनुभयो । उहाँले २० दिन सम्मको जुम्ला अनसन सरकार र प्रतिष्ठानले सामान्य ठानेपछिको कमजोरी हो कि भन्ने आफूले बुझेको तथा  डा. केसी र प्रधानमन्त्रीको सिधै सम्पर्क ढिला भएकाले पनि लम्बिएको आफ्नो बुझाई रहेको बताउनुभयो । 

यसैगरी प्रतिष्ठानले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गोविन्द केसीको अनसन भन्दा पनि पहिला नै प्रतिष्ठानले एमबीबीएससहित स्नातक तहको पढाई सुरु गर्न पहल समेत गरेको जानकारी गरेको छ । 

गएको असार १६ गतेबाट विभिन्न चिकित्सा क्षेत्र र कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चाँडै पूर्वाधार तयार गरी एमबीबीएसको पढाई गरिनुपर्ने भन्दै अनसन बसेका केसीको अनसनको २० आैँ दिनका दिन साउन ३ गते प्रतिष्ठानमा प्रहरी, विद्यार्थी र कर्मचारीहरुबीच झडप भएको थियो । त्यसै दिन केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । 

प्रतिष्ठानमा झडप र क्षति भएको देखिएपछि केसीले आफै काठमाडौं जाने घोषणा अनुसार काठमाडौं लगिएको थियो । यसैगरी क्षति भएको क्षेत्रमा व्यवस्थापन र सरसफाई समेत भएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया