नेपाल टेलिकमको रिङ-ब्याक टोनमा विदेशबाट आएकालाई अनिवार्य क्वरेण्टीनमा बस्न सुझाव

 चैत १६, २०७६ आइतबार १०:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले आइतबारदेखि रिङब्याक टोन परिवर्तन गरेको छ । टेलिकमले आइतबारदेखि विदेशबाट आएका नागरिकलाई परिवारबाट छुट्टै अर्थात् अनिवार्य क्वरेण्टीनमा बस्न रिङब्याक टोनमार्फत सन्देश दिएको छ । 

यसअघि टेलिकमले कोरोना भाइरस (कोभिड १९) बाट बच्न साबुन पानीले बारम्बर हात धुन र खोक्दा, हाच्छिउँ गर्दा मुख छोप्न सन्देश सहितको रिङब्याक टोन तयार गरेको थियो । 

अहिलेसम्म नेपालमा भेटिएका पाँच जना कोरोना सङ्क्रमित विदेशबाट आएको पाइएकाले सरकारले विदेशबाट आएका सबैलाई १४ दिन अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न अनुरोध गर्दै आएको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । 

उच्च ज्वरो आउनु, सुख्खा खोकी लाग्नु र श्वास फेर्न समस्या हुनु कोरोनाका लक्षण हुन् । यी लक्षण देखिए तत्काल अस्पताल जान सरकारले आग्रह गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया