सङ्कटको बेला सरकारलाई गाली मात्रै नगरौँ, सँगसँगै लड्न तयार पनि रहौँ

 चैत १६, २०७६ आइतबार १७:७:५० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - विश्वव्यापी महामारीको रुपमा आएको कोरोनासँग नेपाल पनि लडिरहेको छ । सरकारले अहिले कोरोना रोकथाम र पूर्वतयारीको काम गरिरहेको छ । सरकारले गरेको पूर्वतयारी कमजोर भयो, आवश्यक औषधि र उपकरण पनि जुटाउन सकेन भनेर सरकारको आलोचना भइरहेको छ । तर केहीले भने सरकारले देशको क्षमताअनुसार काम गरिरहेको र यसमा नागरिकले साथ दिनुपर्ने बताइरहेका छन् । यसैमध्येका एक हुनुहुन्छ, चीनका लागि पूर्व नेपाली राजदूत तथा जनस्वास्थ्य विज्ञ डा. महेश मास्के । विश्वका निकै विकसित भनिएका देशलाई पनि कोरोनासँग जुध्न हम्मेहम्मे परिरहेको बेला अत्यन्तै सीमित स्रोत र साधन भएको नेपालजस्तो देशमा सबैले सरकारलाई साथ दिएमात्रै कोरोनालाई पार लगाउन सकिने डा. मास्केको भनाइ छ । पूर्वराजदूत मास्केसँग उज्यालो सहकर्मी अर्जुन पोख्रेलले गर्नुभएको सङ्क्षिप्त कुराकानीः

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको पूर्वतयारी कस्तो पाउनुभएको छ ?

हाम्रो देशको आर्थिक अवस्था र साधनस्रोतअनुसार सरकारले निकै ठूलो कोसिस गरिरहेको देख्छु मैले । तर हाम्रा केही पक्षहरु अलि धेरै कमजोर थिए । स्वास्थ्य प्रणाली बलियो बनाउने र स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिने कुरामा हामी पछि परेका थियौँ । कमसेकम डाक्टर नर्सहरुले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पपिई) पर्याप्त हुनुपर्ने थियो, त्यो हुन सकेन । तर अब विभिन्न देशले नेपाललाई पिपिई र किट सहयोग गरिरहेका छन् । सरकार र निजी क्षेत्रले पनि पिपई ल्याइसकेका छन् । अब स्वास्थ्यकर्मीमा त्यस्तो डर नआउला । अनि हाम्रो स्वास्थ्य प्रणाली कमजोर भएको हो कि भन्ने कुरा अब सम्बोधन हुने देखिएको छ । 

कोरोना रोकथामको पूर्वतयारी तथा नियन्त्रणका लागि हामीले अझ केही सुधार गर्न सक्थ्यौँ कि हाम्रो क्षमताले भ्याएजति गरिरहेका छौैँ ?

विश्वका धेरै देश कोरोना भाइरसको कारण निकै प्रभावित भइरहँदा नेपाल निकै लामो समयसम्म ‘ग्रिन जोन’मा थियो । यहाँ एक जनामा मात्रै कोरोना लागेको थियो । त्यो व्यक्ति निको भएर घर फर्किसके । पछिल्लो समय विदेशबाट घर फर्किंने नेपाली र पर्यटकहरुलाई कडाइ नगर्दा नेपालमा कोरोना भाइरस फैलिन थालेको देखिन्छ ।

भारतमा फैलिन थालेपछि धेरै नेपाली लर्को लागेर नेपाल आएका छन् । तर उनीहरुको स्वास्थ्य जाँच खासै भएन । त्यसैले खतरा बढ्न सक्छ ।
यसरी सङ्क्रमण भएर आएका र उनीहरुको सम्पर्कमा रहेका अन्य धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने देखिन्छ । नयाँ सङ्क्रमित धेरै थपिन सक्ने सम्भावना रहेकोले सरकारलाई ठूलो चुनौती आउन सक्छ । 

यस्तो अवस्थामा हामीले विश्वभरिको अनुभव हेरेर २ वटा महत्त्वपूर्ण शिक्षा लिन सक्छौँ । एउटा ‘लकडाउन’ अर्थात बन्दाबन्दीको अवस्थालाई थप कडाइ गर्ने, जसले भौतिक दूरी बढाओस् ।  सामाजिक रुपमा हुने सामूहिक क्रियाकलाप ठप्पै हुनुपर्छ । 

दोस्रो, हाम्रो प्रयोगशालाको क्षमता, ‘डेडिकेटेड’ अस्पताल र स्वास्थ्यकर्मीको क्षमता बढाइहाल्नुपर्छ । विश्वका धेरै देश प्रभावित भइरहँदा हामीकहाँ सङ्क्रमण बल्ल सुरु हुँदैछ । त्यसैले ती देशबाट शिक्षा लिनुपर्छ । उनीहरुकोमा भएका कमजोरीलाई हामीले सुधार गर्न सक्नुपर्छ । 

कोरोना भाइरसको जाँच गर्न देशैभरिबाट नमुना काठमाण्डौ ल्याउनुपर्ने बाध्यता छ । संयुक्त राष्ट्रसङ्घले कसैलाई शङ्का लाग्नेबित्तिकै परीक्षण गर्न भनेको छ । तर हामीसँग एउटा मात्रै प्रयोगशाला हुँदा अवस्था थप जटिल हुँदैन र ?

विश्व स्वास्थ्य सङ्गठनले सबैको परीक्षण गर्न भनेको छैन । शङ्का लागेका र सङ्क्रमितसँगको सम्पर्कमा रहेकाहरुको परीक्षणलाई बढाउन भनेको छ । एउटा सङ्क्रमितको परीक्षण नहुँदा उसबाट धेरैमा फैलिन सक्ने भएकोले परीक्षण बढाउनु नै पर्छ । यसको लागि हामीलाई किट र प्रयोगशाला पहिलेकोभन्दा धेरै चाहिन्छ । यसको लागि सरकारले तयारी गरेको पनि देखिन्छ । प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यसको सुरुवात भयो जस्तो लाग्छ । अरु प्रदेशमा पनि यस्तो तयारी भएको सुनेको छु । 

यदि हामीले छिटो छिटो प्रयोगशाला बनाउन सकेनौँ भने द्रुत गतिले काठमाण्डौमै ल्याएर भएपनि परीक्षण गर्नुपर्छ । त्यसको लागि एउटा संयन्त्र बनाउनुपर्छ ।  जहाज या हेलिकप्टरमा नमुना ल्याउनुप¥यो । नत्र ‘लकडाउन’ले अहिले बाटो खाली छ । विशेष सवारी साधनको व्यवस्था गरेर भएपनि नमुना परीक्षणलाई तीव्रता दिनैपर्छ । अहिले जतिसक्दो छिटो परीक्षण गर्दै जाने र छिटोभन्दा छिटो सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गर्नुपर्ने देखिन्छ । 

सरकारले अहिले ‘लकडाउन’ गरेको छ । केहीले यसलाई जरुरी नभएको ठानेका छन् । केहीले जानेरै वा नजानेरै यसको उल्लङ्घन गरिरहेका छन् । यसलाई कसरी व्यवस्थित बनाउन सकिएला ?

अप्ठ्यारो भएपनि अहिले संसारभरिका देशले ‘लकडाउन’लाई तीव्रता दिएका छन् । व्यक्तिगत जीवनमा असहज हुनेदेखि आर्थिक गतिविधि ठप्प हुनेसम्मको अवस्था आएपनि कोरोना फैलिन नदिन ‘लकडाउन’ अर्थात बन्दाबन्दी नै गर्नुपरेको छ । सामाजिक कठिनाइ पनि छ । तर ‘लकडाउन’को विकल्प छैन । अहिले कतिपय औद्योगिक काम पनि घरबाटै गर्न सकिने प्रविधि आएका छन् । कार्यालयको काम पनि घरबाटै भइरहेका छन् । सकेसम्म घरबाटै काम गर्ने हो । 

अर्को कुरा, विश्व स्वास्थ्य सङ्गठनअनुसार ‘लकडाउन’को बेला कोठाभित्र बस्दा शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले शारीरिक दूरी कायम राखेर र सुरक्षाका उपाय अपनाएर किसानले खेति गर्न सक्छन् । अब आउने सङ्क्रमितको संख्या हेरेर र हाम्रो पूर्वतयारी रहेर ‘लकडाउन’लाई बढाउने या समाप्त गर्ने भन्ने विषय तय गर्नु उपयुक्त हुन्छ ।

सरकार निकै कमजोर भयो र यसले यस्तो संकटको बेला पनि काम गर्न सकेन भनेर निकै आलोचना भइरहेको छ । यस्तो अवस्थामा सरकारको विरोध र आलोचना जायज हो ? 

अहिलेको अवस्था भनेको हामी सबैजना एक भएर लाग्नुपर्ने समय हो । सरकार भनेको हामी सबैको प्रतिनिधि हो । हामी आफूले सक्नेजति सहयोग गर्ने हो । आलोचना मात्रै राम्रो होइन । एउटा पक्षलाई आलोचना गरेर हामीले यो खालको महामारीबाट पार पाउन सक्दैनौँ । 

संसारमा आफूलाई हरेक कुरामा अब्बल ठान्ने अमेरिका र युरोपका देश अनि चीनको यो बेलाको अवस्था हेर्नुस् त । अनि त्यहाँका सरकारहरुको आलोचना पनि हामीले देखेकै छौँ । नेपालमा मात्रै होइन, ती देशमा पनि पिपिईको अभाव भएर समस्या भएको हामीले देखेकै छौँ । त्यसैले सरकार कामै नलाग्ने भयो । यसले कामै गर्न सकेन भनेर यस्तो अप्ठ्यारो परिस्थितिमा विरोध गरिरहनुको कुनै औचित्य देख्दिनँ ।

बरु सरकारलाई केमा अप्ठ्यारो परिरहेको छ, त्यसमा अघि सरेर सहयोग गर्न सक्छौँ । अहिले एकदमै सकारात्मक सोचको आवश्यकता छ । अहिले हामीले सरकारलाई गाली गर्नुभन्दा पनि मिलेर काम गर्यौं भने यो कठिनाइबाट पार पाउन सक्छौँ । यस्तो आपत् विपद्को बेलामा सामाजिक सहयोगको उदाहरण पेस गर्न सक्छौँ । 

अन्तिम अपडेट: जेठ १४, २०७७

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया