त्रिशूलीमा कार खस्यो : एक जनाको ज्यान गयो, २ जना पौडिएर बाँच्न सफल

 साउन ११, २०७५ शुक्रबार २०:३४:५५ | उज्यालो सहकर्मी

धादिङ – पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका  वडा नम्बर ६, जरेस्थित सडकबाट एउटा कार शुक्रबार त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । 

धादिङतर्फबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूलीमा खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो । 

त्रिशूलीमा खसेका उनलाई नेपाली सेनाले उद्धार गरी गजुरी अस्पतालमा पुर्‍याएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तीन जना सवार कारमा दुई जना भने पौडिएर बाँच्न सफल भएका छन् । दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाइते भएका छन् ।

तीव्र गतिका कारण अनियन्त्रित भई त्रिशूली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ  ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया