एकैदिन उड्ने भए दुई वटा वाइडबडी, एउटा अस्ट्रेलिया अर्को चीन जाँदै

 चैत १७, २०७६ सोमबार ११:४८:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अस्ट्रेलिया र चीन जाने भएका छन् ।

एउटा जहाज नेपालमा रहेका अस्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्काे जहाज चीनमा मेडिकल सामग्री लिन जाने नेपाल वायुसेवा निगमले जनाएको छ । दुई वटै उडान आउँदो‌ बिहीबार २० गते उड्नेछन्  ।

यसअघि बुधबार १९ गते अस्ट्रेलियाको सिड्नी जाने तयारी रहे पनि त्यो स्थगित भएकाले ब्रिस्बेन जान लागेको निगमले जनाएको छ । नेपालमा रहेका अस्ट्रेलियाका नागरिकलाई स्वदेश फर्कनको लागि नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले नेपाल एअरलाइन्सको जहाज चार्टड गरेको छ ।

‘अहिलेलाई सिड्नी जाने स्थगित भएको छ, हामी २ तारिखमा ब्रिस्बेन जान्छौं, यसको सबै चाँजोपाँचो नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले गरेको छ, ब्रिस्बेनपछि सिड्नीको उडान पनि हुन सक्छ’, नेपाल वायुसेवा निगमको अपरेशन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले उज्यालोसँग भन्नुभयो ।

यस्तै २ तारिखकै दिन निगमको अर्को वाइडबडी चीनको ग्वान्झाउ जाने भएको छ । नेपाली व्यवसायीले मेडिकल सामग्री लिन निगमको जहाज लैजान लागेका हुन् । त्यसपछि चीनकै ग्वान्झाउ र छेन्दु जाने तालिका रहेको पनि निगमले जनाएको छ ।

तर यसअघिका तालिका भने परिवर्तन भएको जुहार्चनले जानकारी दिनुभयो । यसअघि निगमले गएको शनिबार पनि चीनकै ग्वान्झाउ पुगेर सरकार र निजी क्षेत्रले किनेका औषधि तथा चीनका व्यवसायी र सिचुवान सरकारले दिएको सहयोग सामग्री लिएर आएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया