‘ग्रहण लाग्दा खानु हुँदैन भन्ने कुरा वाहियात हो’

 साउन ११, २०७५ शुक्रबार २१:७:४४ | विष्णु विश्वकर्मा
unn.prixa.net

आज राति यस शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दैछ ।

मौसमका कारण राती लाग्ने खग्रास चन्द्रग्रहण नेपालबाट देखिने संभावना न्यून छ । त्यो भन्दा पनि ग्रहण हेर्न मिल्छ कि मिल्दैन भन्ने कुरामा नेपाली समाज विभाजित छ । 

एकथरीले ग्रहण हेर्नु हुँदैन, अनिष्ट हुन्छ भन्छन् । खासगरी ज्योतिषीहरुले विभिन्न राशी अनुसार ग्रहण हेर्न मिल्ने र नमिल्ने भनिरहेका छन् । 

तर वैज्ञानिकहरु भने ग्रहण सजिलै हेर्न मिल्ने र यसले कुनै हानी नोक्सानी नगर्ने बताउँछन । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका वैज्ञानिक दिनेश भुजुका अनुसार चन्द्रग्रहण सजिलै हेर्न मिल्छ । रातमा लाग्ने भएकाले चन्द्रग्रहण हेर्दा आँखालाई कुनै असर नगर्ने भएकाले हेर्न मिल्ने उहाँको भनाई छ । ‘रातमा लाग्ने चन्द्रग्रहण हेर्न मिल्छ । यसले आँखालाई कुनै असर गर्दैन । चन्द्रग्रहण हेर्दा आनन्द लिन सकिन्छ । सूर्यग्रहण हेर्दा त्यसका परावैजनी जस्ता हानिकारक किरणले आँखालाई असर गर्छ ।’ उहाँले भन्नुभयो ।

चन्द्रग्रहण किन लाग्छ?

सौर्यमण्डल अन्तर्गत सूर्य, चन्द्रमा र पृथ्वी आफ्नै अक्षमा घुमिरहन्छन् । साथै यिनले एक अर्काको परिक्रमा पनि गर्दछन् । पृथ्वीले सूर्यको वरिपरी परिक्रमा गर्दा चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दछ ।

सूर्य सौर्यमण्डलकै ठूलो तारा हो भने पृथ्वी ग्रह र चन्द्रमा पृथ्वीको उपग्रह हो ।

चन्द्रमा आफैं घुमिरहेका बेला पृथ्वीको समेत परिक्रमा गर्दछ । पृथ्वी पनि घुमिरहेको हुन्छ र सूर्यलाई परिक्रमा गर्दछ । एकले अर्कालाई परिक्रमा गर्ने क्रममा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आइपुग्छ । 

नास्टका वैज्ञानिक भुजुका अुनसार पृथ्वी बीचमा आएका बेला पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । छायाँ परेपछि राम्रोसँग नदेखिने भएकाले चन्द्रमामा ग्रहण लाग्छ । जसलाई चन्द्रग्रहण भनिन्छ ।

खग्रास चन्द्रग्रहण के हो ? 

पृथ्वीले सूर्यको एक फन्को लगाउन ३ सय ६५ दिन लाग्छ । यसक्रममा दुई पटक सूर्यग्रहण लाग्छ भने दुई पटक नै चन्द्रग्रहण लाग्छ । वर्षमा चार पटक ग्रहण लाग्दछ ।

कुनै कुनै वर्षमा ७ पटकसम्म पनि ग्रहण लाग्ने वैज्ञानिकको भनाई छ । औसतमा नेपालीले आफ्नो जीवनमा ३ सय पटकसम्म ग्रहण देख्न सक्छन् । 

शुक्रबार राति लाग्ने खग्रास चन्द्रग्रहण यस शताब्दीकै लामो ग्रहण हो । पृथ्वीको छायाँ पर्दा चन्द्रमा सबै ढाकिने भएर अँध्यारो हुने भएकाले यसलाई खग्रास चन्द्रग्रहण भनिएको नास्टका वैज्ञानिक दिनेश भुजुको भनाई छ ।

‘खग्रास चन्द्रग्रहण लाग्दा चन्द्रमा अँध्यारो हुन्छ । केही मात्रै देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पुरै ढाक्ने भएकाले चन्द्रमा राम्रोसँग नदेखिनु खग्रास चन्द्रग्रहण हो’ उहाँले भन्नुभयो ।

यस शताब्दीकै लामो खग्रास चन्द्रग्रहण 

२१ औ शताब्दीमा २ सय २४ पटक सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले जनाएको छ । त्यसमध्ये ६८ पटक खग्रास सूर्यग्रहण लाग्नेछ । यस्तै यस शताब्दीमा २ सय ३० पटक चन्द्रग्रहण र त्यसमध्ये ८५ वटा खग्रास चन्द्रग्रहण लाग्नेछ ।

त्यसमध्येको सबैभन्दा लामो खग्रास चन्द्रग्रहण शुक्रबार राति १२ बजेर ९ मिनेटदेखि २ बजेर ५८ मिनेटसम्म लाग्नेछ । झण्डै ४ घण्टासम्म लाग्ने खग्रास चन्द्रग्रहण यो शताब्दीकै लामो भएको नास्टका वैज्ञानिक भुजुको भनाई छ ।

चन्द्रग्रहणका भिन्न भिन्न अन्धविश्वास !

ग्रहण लाग्दा चन्द्रमा अँध्यारो हुन्छ । सफा आकाशमा चन्द्रमा अध्यारो देखिएमा मानिसहरु तर्सिएर अनिष्ट हुने अन्धविश्वास राखेर अहिले पनि रुढीवादी चालचलनले नै निरन्तरता पाएको छ । 

नेपालमा चन्द्रग्रहण वा सूर्यग्रहण लाग्दा पुजा पाठ गर्ने, पूजापाठ नगरी खाना वा खाजा नखाने जस्ता पुरातनवादी सोच छ । 

पुर्खाले ग्रहण लाग्दा आफ्नो जीवनमा पनि ग्रहण लागेर अनिष्ट हुन्छ कि भन्ने सोच राखेका कारण अहिले पनि मानिसहरुले त्यसलाई निरन्तरता दिएका हुन् ।
ग्रहणको बारेमा वैज्ञानिक कारण नजानेका कारण नै मानिसहरुले पूजापाठ गर्ने गरेको भुजुको भनाई छ । 

नेपालमा मात्रै नभई विभिन्न देशमा ग्रहणसम्बन्धि भिन्न भिन्न अन्धविश्वास छ । चीनमा ग्रहण लागेपछि ड्रागनले खान थालेको भन्दै डराउँथे । यस्तै माया सभ्यतामा ग्रहण लाग्दा सर्पले खान लाग्यो भन्थे भने साइबेरियाका मानिसहरु भालुले खान लाग्यो भन्थे । 

नास्टका वैज्ञानिक भुजुका अनुसार हंगेरीका मानिसहरु ग्रहण लाग्दा चराले खान लाग्यो, भियतनामीले ठूलो भ्यागुताले खान लाग्यो भन्थे भने अफ्रिकन देश कंगोका मानिसहरु ग्रहण लाग्दा सूर्य र चन्द्रमाबीच झगडा हुन थाल्यो भन्दै घर झगडा मिलाउने गर्थे । 

तर यो परम्परागत सोच मात्रै भएको वैज्ञानिक भुजुको भनाई छ ।

‘यो परम्परागत सोच मात्रै हो । यसबाहेक केही होइन । कतिसम्म भने केही देशमा पहिला पहिला ग्रहण लाग्दा मान्छेको बलि पनि दिने गरिन्थ्यो ।

तर अहिले ग्रहणबारे वैज्ञानिक खोज पत्ता लागेपछि पुरानो सोच हराउँदै गएको छ’ उहाँले भन्नुभयो ‘नेपालमा पनि यो नखाने, त्यो नखाने, पूजापाठ गर्ने कुरा वाहियात हो । ग्रहण हेर्नुस्, आनन्द लिनुस् भन्छु म ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

5 Comments

  • Kamraj

    July 28, 2018, 12:59 a.m.

    Ma yo kura ma alli sochna badhya bhayeko chhu teso ho bhane surya grahan kina aunsi ra chandrama kina poornima ma mai lagchhata yeso bujhai diye gyan painthyoki

  •  0 Reply
  • Kamraj

    July 28, 2018, 12:57 a.m.

    Ma yo kura ma alli sochna badhya bhayeko chhu teso ho bhane surya grahan kina aunsi ra chandrama kina poornima ma mai lagchhata yeso bujhai diye gyan painthyoki

  •  0 Reply
  • gokul Paudel

    July 27, 2018, 11:02 p.m.

    यो अति भयो, खासमा नराम्रो विकिरण आउने हुँदा यो हेर्न हुँदैन /

  •  0 Reply
  • Sarbesh yadav

    July 27, 2018, 11:01 p.m.

    Is that real or not

  •  0 Reply
  • Krishna pandey

    July 27, 2018, 9:32 p.m.

    ग्रहण लाग्दा सहवास गर्नु हुदैन भन्छन के यो सत्य हो।यदी गर्यो भने के असर पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया