प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आइतबारदेखि

 जेठ १२, २०७५ शनिबार १८:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १२ – राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालयले सम्पूर्ण तयारी भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराइनेछ । प्रदेशका टिमसँगै ३ विभागीय टिमको पनि सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रादेशिक संरचनामा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिताले ऐतिहासिक महत्व राख्ने प्रतिक्रिया दिनुभएको छ ।  

आइतबार कीर्तिपुर मैदानमा हुने उद्घाटन खेलमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्नेछन् । आइतबार नै मूलपानी मैदानमा हुने खेलमा समूह बी का प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ बीच प्रतिस्पर्धा हुनेछ । आउँदो २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछ भने उप विजेताले १० लाख रुपैयाँ जित्नेछ ।

यस्तै म्यान अफ द सिरिजले १ लाख रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । एक जना उदीयमान खेलाडीले १५ हजार साथै प्रत्येक खेलको म्यान अफ द म्याचले जनही १० हजार पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया