'लकडाउन' उल्लङ्घन गरेको भन्दै दुई युवकलाई कुट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

 चैत १८, २०७६ मंगलबार ११:४४:४९ | उज्यालो सहकर्मी

सप्तरी – नेपाल–भारत सीमा नाका बन्द र ‘लकडाउन’का समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिका ३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार मनोज चौधरी निलम्बनमा परेका हुन् ।

कोभिड १९ सङ्क्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिनुभयो ।

आदेश विपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । लकडाउन उल्लङ्घन गरेको आरोपमा बलान बिहुल ३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई बलान बिहुल गाउँपालिकाको दजशगजा क्षेत्रमा फेला पारी सशस्त्र प्रहरी हवल्दार चौधरीले कुटपिट गरेका थिए ।

लकडाउन उल्लङ्घन गरेको भन्दै निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकमा रहेको मुख्यालयले छानबिन सुरु गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया