गोदावरी नगरपालिकाले स्वास्थ्यकर्मीलाई हरेक दिन ५ सय रुपैयाँ भत्ता दिने

 चैत १८, २०७६ मंगलबार १२:१:२१ | उज्यालो सहकर्मी

ललितपुर - ललितपुरको गोदावरी नगरपालिकाले लकडाउनको अवधिभर स्वास्थ्यचौकीमा ड्युटीमा खटिने स्वास्थ्यकर्मीलाई दिनहुँ ५ सय रुपैयाँ भत्ता दिने भएको छ ।

नगरपालिकाले हरेक स्वास्थ्यचौकीलाई १ महिनामा २५ लिटर ईन्धन उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै नगरक्षेत्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीको कोरोना भाइरसका कारण ज्यान गएमा परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

काेरोना भाईरस (कोभिड १९) को रोकथाम, उपचार र जनचेतना फैलाउने काममा खटिने क्रममा संक्रमण भएर ज्यान गए राहत स्वरुप परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको हो । यस्तै नगरपालिकाले कोरोना भाईरसको संक्रमण भएमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै कोरोनाबाट हुने जोखिम कम गर्न आवश्यक कामका लागि प्रतिवडा दुई लाख रुपैयाँ विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि भएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

लकडाउनको अवधिभर नगरपालिकाभित्रका कोही व्यक्ति विरामी भएमा नगरपालिकाभित्रका एम्बुलेन्समार्फत उपचार गर्न स्वास्थ्य चौकी अथवा अस्पताल जानुपरेमा नगरपालिकाले लाग्ने शुल्कमा १ हजार रुपैयाँ छुट गर्ने व्यवस्था पनि गरेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया